
भद्रपुर, ११ जेठ । स्थानीय तह निर्वाचन–२०७९ मा नेकपा माओवादी केन्द्र भद्रपुरका तर्फबाट उम्मेदवार बनेकाहरुले मतदातालाई धन्यवाद र विजयी उम्मेदवारलाई बधाई दिएका छन् ।
भद्रपुर–८ स्थित एनसीडीसीमा आज एक कार्यक्रमको आयोजना गरी उनीहरुले मतदाता र निर्वाचनका दौरान अहोरात्र खट्नुहुने पार्टी–कार्यकताहरुलाई धन्यवाद दिनुका साथै पार्टीका तर्फबाट भद्रपुर नगरपालिका वडा नं. ४ को वडाध्यक्षमा विजयी हंशधर राजवंशी र वडा सदस्य सविता पुरीलाई बधाई दिएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि पार्टीका जिल्ला संयोजक राजु आचार्य (अग्नि), सचिव मोहन टुडू, क्षेत्रीय इञ्चार्ज डिल्ली घिमिरे (हिक्मत), क्षेत्रीय सहइञ्चार्ज धर्म सिवाकोटी लगायतले नवनिर्वाचन उनीहरुलाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

कार्यक्रममा पार्टीका तर्फबाट उपप्रमुखम उम्मेदवार बन्नुभएका शिवकुमार राजभण्डारी, भद्रपुर वडा नंं. १ बाट वडाध्यक्ष उम्मेदवार बन्नुभएका मेदनी शिवाकोटी, वडा नं. ७ बाट वडाध्यक्षका उम्मेदवार बन्नुभएका पुष्पलाल राजवंशी, वडा नं. ४ बाट उम्मेदवार बनेर विजयी हुनुभएका हंशधर राजवंशीले चुनाव ताका भोग्नुभएका तीता–मिठा अनुभव सुनाउनुभएको थियो । भद्रपुरमा पार्टीका तर्फबाट उपप्रमुख, ३ जना वडाध्यक्ष र वडासदस्य गरी १७ जना उम्मेदवार बनेका थिए ।

‘उम्मेदवार उपविजयी भए पनि माओवादीको एजेण्टा स्थापित हुँदै गएको छ’, उहाँले भन्नुभयो, ‘संविधानको कार्यान्वयनसँगै माओवादी विजयी हुँदै गएको छ ।’ प्रमुख वा उपप्रमुख पदमा महिला अनिवार्य माओवादीको एजेन्डा भएको बताउँदै उहाँले भद्रपुरमा माओवादीको एजेण्डा स्थापित भएको उहाँको भनाइ थियो ।
कार्यक्रममा प्रमुख अतिथि राजु आचार्य (अग्नि) ले मत परिणामबाट निराश नभई अझ खटेर पार्टीलाई मजबुद बनाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रतिबद्ध भएर लाग्नुहोस्, यो पटक भएन अर्को पटक हाम्रो जीत सुनिश्चित छ ।’
त्यस्तै, विशिष्ठ अतिथि जिल्ला सचिव मोहन टुडूले हालैसम्पन्न चुनावमा पार्टीका उम्मेदवारले हारे पनि गणतन्त्र पक्षधर जितेको उल्लेख गर्नुभयो ।
नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) सहित तीन दलीय गठबन्धन गरी चुनावी मैदानमा उत्रिएको माओवादी केन्द्रले गठबन्धनमा इमान्दारिता देखाएको उम्मेदवारहरुको ठहर छ । सोही इमान्दारिता नै उम्मेदवार हारे पनि पार्टीले जितेको उनीहरुको भनाइ थियो ।
झापा क्षेत्र नं. ३ का इञ्चार्ज एवम् भद्रपुर नगर निर्वाचन परिचालन कमिटीका संयोजक डिल्ली घिमिरे (हिक्मत)को अध्यक्षता भएको कार्यक्रमको सञ्चालन पार्टीका नगर सह इञ्चार्ज पुकार राजवंशीले गर्नुभएको थियो ।

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



