
बिर्तामोड, ११ जेठ । झापाको बिर्तामोड नगरपालिका वडा नं. ३ ले सुत्केरी महिलालाई पौष्टिक आहार दिने निर्णय गरेको छ ।
नवनिर्वाचित वडाको पहिलो बैठकले पहिलो निर्णय स्वरुप सुत्केरी महिलालाई १५ सय रुपैयाँ बराबरको पौष्टिक आहार दिने निर्णय गरिएको वडाध्यक्ष मदन बुढाथोकीले जानकारी दिनुभयो ।
बिर्तामोड–३ मा बसोबास गर्ने महिलाहरु सुत्केरी भई ३५ दिनभित्र वडा कार्यालयमा जन्मदर्ता गराए उक्त सुविधा दिइने उहाँले बताउनुभयो । ‘वडाको पहिलो बैठकले एक बुँदे प्रस्तावसँगै निर्णय गरेको हो’, उहाँले भन्नुभयो, ‘वडाको समृद्धि र वडाबासीको सेवा हाम्रो एकमात्र उद्देश्य र लक्ष्य हो ।’
बिर्तामोड–३ मा वडाध्यक्ष बुढाथोकीसँगै हरिप्रसाद बाँस्तोला, मणिमान लिम्बू, धनसरी राजवंशी, लक्ष्मी रोक्का र भीम अधिकारी निर्वाचित भएका छन् ।

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



