
झापा, २ असोज । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले जितीया पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।
आज शुभकामना विज्ञप्ति जारी गर्दै उहाँले तराईमा बसोबास गर्ने थारु र मैथिली समुदायका महिलाहरूले मनाउने महान चाड जितीया पर्वको सुखद अवसरमा प्रदेश नं. १ सहित देश, विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवम् प्रगतिको कामना गर्नुभएको छ ।
प्रदेश नं. १ सहित तराई–मधेसका जिल्लामा जितिया पर्व धुमधामका साथ मनाइन्छ । सन्तानको दीर्घायुका लागि बस्ने भनिएको यो व्रत आश्विन कृष्णपक्षकोे अष्टमी तिथिका दिन मुख्यगरी मनाइन्छ । आश्विन कृष्ण सप्तमी तिथिका दिन बर्तालुहरू स्नान गरी चोखो हुने र अष्टमी तिथिको आरम्भसँगै उपवास शुरु गरी नवमी तिथिको आगमन भएपछि पूजापाठ गरेर जितिया पर्वको समापन हुन्छ ।
यस व्रतका क्रममा राती जितवाहन भगवानको कथा र महिमा सुन्ने प्रचलन छ । खासगरी थारु र मैथिली समुदायको ठूलो चाडको रुपमा रहेको जितिया पर्व सन्तानको सुख, शान्ति र चिरायुका लागि प्रसिद्ध छ । सत्ययुगमा भगवान् विष्णुको तपस्या गरी वरदान पाएका सत्यवादी पुरुष जितवाहनको पूजा आराधना गर्नाले सन्तानको अकाल मृत्यु नहुने मान्यताबमोजिम जितवाहनको पूजा र व्रत गर्ने परम्पराको थालनी भएको भन्ने भनाइ छ । जितिया पर्व जिमूतवाहन र जिवित्पुत्रका नामले पनि चिनिन्छ । यो तराई–मधेसको महत्वपूर्ण लोक पर्व हो ।
“नेपाल सदियौंदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकका रूपमा रहेको छ । यो करालाई नेपालको संविधानले स्वीकारसमेत गरेको छ । त्यतिमात्र होइन यो विविधता नेपाल र नेपालीको पहिचान, गहना र सम्पत्तिसमेत बनिसकेको छ । त्यसैले सबै भाषा, धर्म, संस्कृति, चाडपर्वको संरक्षण एवम् सम्बद्र्धन गर्नु राज्य र सम्पूर्ण नेपालीको साझा दायित्व हो”, शुभकामनामा उल्लेख छ, “हाम्रा जुनसुकै पर्वहरू राष्ट्रिय एकताको माध्यम बन्न सकोस्, र यी पर्वहरूबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्ने अपेक्षासहित फेरि पनि संसारभरि फैलिएर रहेका नेपाली दिदीबहिनी, दाजुभाइहरूमा जितिया पर्वका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।”
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



