
झापा, ३ असोज । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले संविधानले साझा शासन र स्वशासनको उचित तालमेल मिलाई सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित संघीय शासन प्रणालीको स्थापना गर्ने परिकल्पना गरेको बताउनुभएको छ ।
आज संविधान दिवसको अवसरमा शुभकामना दिँदै उहाँले त्यस्तो बताउनुभएको हो । उहाँले नेपाली जनताको बलिदानीपूर्ण संघर्षमार्फत स्थापित संविधानसभाबाट सात वर्षअघि आजकै दिन नेपालको संविधान जारी भएको ऐतिहासिक अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।
“विभिन्न कालखण्डमा राष्ट्रिय स्वाधीनता, शान्ति र लोकतन्त्रका लागि भएका आन्दोलन तथा संघर्षहरूमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने महान शहीदहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु”, उहाँले भन्नुभयो, “साथै, जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेशी, आदिवासी जनजाति र विभिन्न समुदायका संघर्षमा सहभागी सबैप्रति हार्दिक आभार प्रकट गर्दछु ।”
नेपालको संविधानमा नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, कानूनी राज्य जस्ता लोकतन्त्रका महत्वपूर्ण अङ्गहरूको व्यवस्थाले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन पुगेको उहाँले उल्लेख गर्नुभयो ।
“नेपालको संविधान–२०७२ जारी भएपश्चात् एक कार्यकाल प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भई हामी यतिखेर दोस्रो कार्यकालको निर्वाचनको संघारमा छौं”, उहाँले भन्नुभयो, “यही अवधिमा मुलुकमा स्थानीय तहको दुई कार्यकालको निर्वाचन सम्पन्न भइसकेको छ । यसरी लोकतन्त्रको प्राणवायु मानिने निर्वाचन आवधिक रूपमा सम्पन्न भएर लोकतन्त्र थप मजबुत हुन पुगेको छ ।”
केन्द्रीकृत र एकात्मक शासन व्यवस्थाको स्थानमा विकेन्द्रीकृत र संघात्मक शासन प्रणालीको व्यवस्था गर्नु यो संविधानको महत्वपूर्ण उपलव्धि भएको उहाँले बताउनुभयो । संविधानले सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको उहाँले बताउनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



