
बिर्तामोड, २७ असोज । झापा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार देवराज घिमिरेले भारतले हडपेको नेपाली भूमि दावी गर्दै केपी ओली सरकारले नक्सा सार्वजनिक गरेकोमा उहाँकै नेतृत्वमा अब बन्ने सरकारले जमिन नै फिर्ता ल्याउने बताउनु भएको छ ।
नेकपा एमालेका प्रदेश १ का इन्चार्ज समेत रहनु भएका घिमिरेले आर्थिक नाकाबन्दीदेखि धाक धम्की र राजनीतिक दवाव दिएर नेपालको राजनीतिलाई भारत अनुकूल बनाउने कामको पनि अब अन्त्य गराउने बेला आएको बताउनु भएको छ । मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन परिचालन तथा प्रचारको काम व्यवस्थित गर्न नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले वडास्तरमा आयोजना गरिरहेको संयुक्त भेलालाई सम्बोधन गर्दै उहाँले नेपाललाई कमजोर र खोक्रो बनाउने विभिन्न मुलुकका षड्यन्त्रलाई फाल्न एमालेको बहुमतको सरकार चाहिएको जिकिर गर्नुभयो ।
आज बिर्तामोड नगरपालिका वडा नं. ३ र वडा नं. ४ का छुट्टाछुट्टै स्थानमा भएका संयुक्त भेलालाई सम्बोधन गर्दै एमाले नेता घिमिरेले यस्तो बताउनु भएको हो । नेकपा एमाले र राप्रपासहितको तालमेलबाट बनेका उम्मेदवारलाई जिताएमा यस्तो उपलब्धी हात लाग्ने पनि उहाँले दावी गर्नुभएको छ । निर्वाचन मार्फत जनतालाई सचेत गर्न सकिने र सरकार मार्पmत जनताको पक्षमा नियम कानुनहरु बनाउँदै देशलाई समृद्व बनाउन सकिने भएकाले एमालेको जीत आवश्यक रहेको उहाँको धारणा छ ।
उक्त कार्यक्रमहरुमा क्षेत्र नं. २ प्रदेशसभा (क) उम्मेदवार उम्मेदवार एकराज कार्कीले प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा स्वतन्त्र उम्मेदवारको कुनै औचित्य नहुने जिकिर गर्नु भयो ।
जुनसुकै सरकार निर्माणमा बहुमत आवश्यक पर्ने भन्दै स्वतन्त्र कहिल्यै बहुमत हुन नसक्ने ठोकुवा गर्दै नीति निर्माणको तहमा एक दुईजना स्वतन्त्र प्रतिपक्षमा बस्नुको केही औचित्य नहुने पनि प्रष्ट पार्नुभयो ।
उहाँले देशको समृद्धि एवम् विकासका लागि नेकपा एमालेको नेतृत्वमा सरकार बन्नैपर्ने विगतका कामहरुले पनि देखाइसकेको स्मरण गराउनु भयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



