
बिर्तामोड, १ कात्तिक । गठबन्धन दलका जिल्ला नेतृत्वले गठबन्धन दलका उम्मेद्वारविरुद्ध गतिविधि नगर्न सम्पूर्ण नेता÷ कार्यकर्तालाई सचेत गराएको छ ।
नेपाली कांग्रेस झापाका कार्यबाहक सभापति केशवराज पाण्डे, नेकपा एसका अध्यक्ष बेदराज रेग्मी, नेकपा माओवादीका राजु आचार्य अग्नीले संयुक्त विज्ञप्ति जारी गर्दै जिम्मेवार भएर चुनावी प्रचारमा लाग्न आह्वान गरेका हुन् ।
‘गठबन्धन दलका तमाम् नेता, कार्यकर्ताहरुले प्रतिगामी तत्वले चलाएको निराधार हल्ला र अनेक भ्रमलाइ चिर्दै गठबन्धन दलका साझा उम्मेद्वारहरुको पक्षमा जनलहर सिर्जना गर्ने कार्यमा अहोरात्र खटेर निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न निष्ठा, त्याग, समर्पण र इमान्दारीपूर्वक सबै नेता कार्यकर्ताको योगदान रहने विश्वास हामीले लिएका छौं’–विज्ञप्तिमा भनिएको छ–‘यो विश्वासलाई कुठाराघात हुनेगरी विपक्षी उम्मेद्वारसँग साँठगाँठ गर्ने, गठबन्धन दलका उम्मेद्वारलाई नकारात्मक असर पर्ने गरी आबद्ध दलका नेता, कार्यकर्ता, भातृ, जनवर्गीय संगठनका पदाधिकारी÷सदस्यले कुनै अनुचित गतिविधि नगर्न÷नगराउन सचेत गराइन्छ ।’
प्रतिनिधिसभा र प्रदेशसभाको यो निर्वाचन सामान्य अवस्थाको निर्वाचन नभई जनआन्दोलनबाट प्राप्त उपलब्धीको रक्षा र संविधानको संरक्षणका लागि अर्को आन्दोलन भएको विज्ञप्तिमा उल्लेख छ । निर्वाचनको प्रचार–प्रसार एवं पार्टीको आन्तरिक काममा क्षेत्र, प्रदेश क्षेत्र, नगर÷गाउँ÷वडा÷टोलमा सक्रियतापूर्वक खट्ने सबै नेता÷कार्यकर्ताहरुको उपस्थिति लगत राखी मूल्याङ्कन प्रक्रियालाई अघि बढाइने जानकारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा उल्लेखित निर्देशन विपरित हुनेगरी गठबन्धन दल र दलका साझा उम्मेद्वारका विरुद्ध गतिविधि गर्ने, सामाजिक सञ्जालमार्फत नकारात्मक प्रचार–प्रसार, टिकाटिप्पणी (लाइक, कमेन्ट, सेयर) गर्ने, चोकबजारमा अनुचित र अनावश्यक कुप्रचार गरी लोकतन्त्र विरोधीको मनोवल बढाउने कार्य गरेको पाइएमा त्यस्ता ब्यक्तिहरुको सम्बन्धित समितिले अभिलेख राखी कारबाही प्रक्रिया अघि बढाइने पनि विज्ञप्तिमा उल्लेख छ ।

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



