
बिर्तामोड, २ कात्तिक । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त निर्वाचन परिचालन समितिले झापा क्षेत्र नं. २ का उम्मेवार र सञ्चारकर्मीबीच अन्तरसम्वाद कार्यक्रम गरेको छ ।
झापा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार देवराज घिमिरे, क्षेत्र नं. २ (१) बाट प्रदेशसभा सदस्य उम्मेदवार एकराज कार्की र झापा क्षेत्र नं. २ (२) बाट प्रदेशसभा सदस्य उम्मेदवार चिन्तन पाठक र यहाँका सञ्चारकर्मीसँग अन्तरसम्वाद गरेको हो ।
कार्यक्रममा सञ्चारकर्मीको जिज्ञासाको जवाफ उम्मेदवारहरुले दिएका थिए । सो क्रममा झापा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार देवराज घिमिरेले महाकाली सन्धि नेपालको अहितमा नभएको बताउनुभयो । उहाँले सन्धिताका भएका सम्झौता कार्यान्वनमा नआएकाले समस्या सिर्जना भएको बताउनुभयो ।
“सन्धिले महाकाली नदीलाई व्यवस्थित गरेको छ”, उहाँले भन्नुभयो, “बहुवर्षिय पञ्चेश्वर परियोजना कार्यान्वयनमा नआउँदा समस्या भएको हो, अब निर्वाचन पछि एमालेको सरकार बन्छ, त्यो व्यवस्थित हुन्छ ।”
एमाले पार्टी अनुशासन र विधिमा चल्ने पार्टी भएको चर्चा गर्दै उहाँले अवसरवादीहरुले पार्टी छोड्दा कुनै फरक नपर्ने उल्लेख गर्नुभयो । “पार्टी छोड्ने अवसरवादीहरुलाई कार्यकर्ताले साथ दिँदैनन्”, उहाँले भन्नुभयो ।
निवर्तमान प्रदेशसभा सदस्य एकराज कार्कीले यसअघि निर्वाचित भएपछि अधिकांश बाचा पूरा गरेको बताउनुभयो । बजेटको परिधिमा रहेर काम गर्नुपर्ने भएकाले भनेजति काम गर्न नसकिएको उहाँले स्वीकार्नुभयो । मुलुकमा राजनीतिक मुद्दा किनारा लागिसकेकाले समृद्धिको अभियान जारी भएको बताउँदै भन्नुभयो, “अब समृद्धिको अभियान एमाले पूरा गर्छ ।”
अर्का प्रदेशसभा सदस्य चिन्तन पाठकले झापामा स्वतन्त्रको बजार नरहेको बताउनुभयो । एक पटक स्थानीय तह चुनावमा हारे पनि यस पटक त्यस्तो नहुने दाबी गर्नुभयो । “पहिला म टिकट बाँड्ने ठाउँमा थिएँ, केही खुसी र धेरै रुष्ट पनि थिए”, उहाँले भन्नुभयो, “अहिले त्यस्तो अवस्था छैन, पहिला भएका त्रुटीलाई पनि सच्याएर अघि बढेको छु ।”
कार्यक्रममा झापा क्षेत्र नं. २ (१) की समानुपातिक प्रदेश सभा सदस्य पदकी उम्मेवार कमला थापामगर, एमाले बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराई लगायतको सहभागिता रहेको थियो ।
निर्वाचन परिचालन समिति झापाका अध्यक्ष हरिचरण शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रमको औचित्यमाथि एमाले झापा प्रचार विभाग प्रमुख गोपाल काफ्लेले प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सञ्चालन प्रचार विभाग सचिव प्रदीप परियारले गर्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



