
बिर्तामोड, ३ कात्तिक । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवम् झापा क्षेत्र नं. २ लोकतान्त्रिक–बाम गठबन्धन निर्वाचन प्रचार–प्रसार मूल समितिका संयोजक सुधिरकुमार शिवाकोटीले भ्रमको पछि नलाग्न आग्रह गर्नुभएको छ ।
‘हाम्रो उम्मेदवार छैन किन भोट हाल्ने ?’ भन्ने हल्ला र भ्रम विपक्षीहरुले फिजाइरहेको बताउँदै उहाँले त्यसको पछि नलाग्न गठबन्धनका कार्यकर्तालाई आग्रह समेत गर्नुभयो । सबै क्षेत्रमा गठबन्धनका उम्मेद्वारलाई जिताउन आग्रह गर्दै उहाँले राजनीतिक दल र गठबन्धनका एक–एक सांसदको भूमिका सरकार गठनमा महत्वपूर्ण रहने बताउनुभयो ।
संविधानसभा सदस्य समेत रहेर संसदीय अभ्यासमा सहभागी भइसक्नुभएका नेता शिवाकोटीले संसदमा सभामुखसँग बसेर संसदीय अभ्यास, संसदमा बोल्ने समय, संसद सञ्चालनका बिसयमा नीति नियम बनाउन राजनीतिक दलबाट जितेर गएका सांसदको मात्रै भूमिका रहने उल्लेख गर्दै संसदीय अभ्यासमा स्वतन्त्र सांसद्को खासै भूमिका नहुने समेत स्पष्ट पार्नुभयो । तसर्थ, गठबन्धनका उम्मेद्वारलाई जिताउन आवश्यक रहेको उहाँको भनाई थियो ।
कार्यक्रममा झापा क्षेत्र नं. २ प्रतिनिधिसभा सांसदका प्रत्यासी उम्मेद्वार हरिकुमार रानाले पछिल्लो समय एमालेले प्रतिक्रियावादी र निरंकुश राजतन्त्रको पक्षपोषण गरिरहेको आरोप लगाउँदै अगाडि भन्नुभयो– ‘ राजतन्त्रकै पक्षपोषण गर्नु थियो भने राजतन्त्र किन ढाल्नु परेको थियो ? के नेपाली जनता अब पनि बन्धक बनेर बस्न चाहन्छन् ?’
कुण्ठा र प्रतिशोधलाई सडकमा पोख्ने होइन मतबाट परास्त गर्नुपर्ने धारणा राख्दै उम्मेद्वार रानाले राजनीतिक इमान्दारिता र नैतिकता प्रदर्शन गरेर सबै दलले प्रतिष्पर्धा गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमममा झापा क्षेत्र नं–२, प्रदेशसभा १ का प्रत्यासी उम्मेद्वार पुष्प पोखरेलले गठबन्धन दलले मात्रै देश र जनताको समुन्नतिका लागि कार्य गर्न सक्ने बताउँदै राष्ट्रिय आवश्यकताका आधारमा गठबन्धन भएको धारणा राख्नुभयो । निरंकुशता र पश्चगमनकारी शक्तिलाई जनमतबाट परास्त गरेर अग्रगामी शक्तिलाई चुनाव जिताउने दायित्व जनताको काँधमा आएको उम्मेद्वार पोखरेलको भनाई थियो । नेपाली कांग्रेस विर्तामोड ५ नम्बर वडा समितिका सभापति दीपक मेनेङबोको सभापतित्वमा सम्पन्न कार्यक्रम सम्पन्न भएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



