
बिर्तामोड, ४ कात्तिक । लोकतान्त्रिक–बाम गठबन्धन संयुक्त संयन्त्र झापाको आयोजनामा भातृ, शुभेच्छुक संस्था एवं जनवर्गीय संगठनका प्रतिनिधिहरुसँगको संयुक्त बैठक बिर्तामोडमा सम्पन्न भएको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा समाजवादी निकट भातृ, जनवर्गीय संगठन र शुभेच्छुक संस्थाहरुको संयुक्त बैठकले आगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचन सफल र परिणाममुखी बनाउन प्रचार–प्रसारलाई तीब्र बनाउने निर्णय गरेको हो ।
बैठकले गठबन्धन दलका भातृ, जनवर्गीय र शुभेच्छुक संस्थाहरुको क्षेत्र, प्रदेश क्षेत्र र सबै वडाहरुमा नेपाली कांग्रेस निकट भातृ शुभेच्छुक, संस्थाको नेतृत्वमा चुनाव प्रचार–प्रसार समिति गठन गर्ने निर्णय गरेको हो । बैठकलाई सम्बोधन गर्दै संयन्त्रका संयोजक एवं नेपाली कांग्रेस झापाका कार्यबाहक सभापति केशवराज पाण्डेले गठबन्धनको पक्षमा निर्वाचन परिणाम ल्याउन सक्रियतापूर्वक आ–आफ्नो संगठनलाई सक्रिय रुपले परिचालन गर्न सबैलाई आह्वान गर्नुभयो ।
संयन्त्रका सचिव एवं नेकपा माओवादी झापाका इन्चार्ज राजु आचार्य अग्नीले मुलुकको ब्यवस्था परिवर्तनका लागि शासकसँग जोखिम मोलेर एमालेले अहिलेसम्म कुनै आन्दोलनको नेतृत्व नगरेको बताउँदै आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षासमेत एमालेबाट नहुने धारणा राख्नुभयो ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै संयन्त्र सदस्य एवम् नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले के।पी। ओलीले संसदीय ब्यवस्था नै नचाहेको उल्लेख गर्दै राजासँग मिलेर एकदलीय तानाशाही ब्यवस्था लाद्ने षडयन्त्र गर्नेलाई संसदीय ब्यवस्था किन चाहियो ? भनी प्रश्न गर्नुभयो ।
कार्यक्रममा सहभागीका तर्फबाट धारणा राख्ने अधिकांश बक्ताहरुले संघीय लोकतान्त्रिक गणतन्त्रका विरोधी शक्तिहरु एकजुट भएकोतर्फ सचेत हुन आवश्यक रहेको बताउँदै लोकतन्त्रका लागि फेरि आन्दोलन गर्नुपर्ने अवस्था आउन नदिन यही निर्वाचनमा जनमतमार्फत नै प्रतिगामी शक्तिलाई पाखा लगाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा संयन्त्र सदस्य शेरबहादुर भट्टराई, ट्रेड युनियन कांग्रेसका सभापति यज्ञप्रताप अधिकारी, नेविसंघ झापा सभापति राजेन्द्र उप्रेती, देवीप्रसाद घिमिरे, राजेन्द्र भट्टराई, पाण्डवलाल चौधरी लगायत दर्जन बढीले सुझाव एवं धारणा राखेको नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो ।
संयन्त्रका संयोजक केशवराज पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत नेपाल चिया बगान श्रमीक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङले गर्नुभएको थियो भने सञ्चालन विपी भट्टराईले गर्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



