
कालीस्थान, ४ कात्तिक । निर्वाचन नजिकिन एक महिना बाँकी रहँदा उम्मेद्वारहरु घरदैलो कार्यक्रममा ब्यस्त छन् । निर्वाचन आयोगले १७ दिनअघिबाट मात्र ठूला आमसभा लगायतका कार्यक्रम गर्न पाउने भनेपछि उम्मेद्वारहरु घरदैलो एवं कोणसभामा ब्यस्त भएका हुन् ।
यसैक्रममा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्वाहरुले अर्जुनधारा नगरपालिका वडा नं ९ र १० मा कोणसभा एवं घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । वडा नं –९ को गार्गी भवन एवं अर्जुनधारा–१० सालबाडीमा कोणसभा एवं घरदैलो कार्यक्रम सम्पन्न भएको हो । नेकपा माओवादीका पोलिटब्युरो सदस्य धर्मशिला चापागाईको प्रमुख आतिथ्य र नेपाली कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईंको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा स्थानीयवासीले उम्मेद्वारसँग वडामा समस्याहरु राखेका थिए ।
कार्यक्रममा बोल्दै झापा क्षेत्र नं–२ प्रतिनिधिसभा सदस्यका उम्मेद्वार हरिकुमार रानाले मुलुकको विकास र जनताको समृद्धिका लागि गठबन्धनको विकल्प नभएको बताउँदै गठबन्धन दलका उम्मेद्वारहरुलाई जिताउन जनतासमक्ष अपिल गर्नुभयो ।
कार्यक्रममा झापा क्षेत्र नं–प्रदेश ख का उम्मेद्वार खगेन्द्र मैनालीले झापा यस क्षेत्रको विकास र समृद्धिका लागि आफूहरुसँग स्पष्ट योजना रहेको बताउँदै जिताएर जनसेवा गर्ने अवसर दिन आह्वान गर्नुभयो । लिलाराज पौडेलको सभापतित्वमा अर्जुनधारा–९ गार्गी भवनमा सम्पन्न कार्यक्रममा समानुपातिक उम्मेद्वारहरु लक्ष्मी न्यौपाने सरु र पम्फा विक, मदन बुढाथोकी लगायतले बोल्नुभएको थियो । कार्यक्रममा स्वागत केदार ढुङ्गेलले गर्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



