
भद्रपुर, १२ कात्तिक । आगामी मंसिर ४ हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा प्रमुख प्रतिस्पर्धी दलका रूपमा रहेको लोकतान्त्रिक बाम गठबन्धनले झापा क्षेत्र नम्वर १ मा मतदाता भेटघाट अभियान सुरू गरेको छ ।
तिहार सकिए लगत्तै गठबन्धन सम्बद्ध प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको टोलीले झापा १ अन्र्तगत प्रदेश १ तथा २ ले आ—आफ्ना क्षेत्रमा पर्ने वडागत बस्ती बस्तीमा गएर मतदाता भेट अभियान तीव्र बनाएका हुन् ।
संघीय संसदका उम्मेदवार काँग्रेस महामन्त्री पार्टीको कामको शिलसिलामा राजधानी काठमाण्डौ भए पनि प्रदेशका उम्मेदवारले चुनावी अभियान तीव्र गतिमा सञ्चालन गरिरहेका छन् ।
झापा सदरमुकाम चन्द्रगढीदेखि उत्तरी झापाको बाहुण्डागीसम्म रफ्तारमा चलिरहेको मतदाता भेटघाट कार्यक्रममा प्रदेश १ का प्रत्यक्ष तर्फका उम्मेदवार गोपाल तामाङको नेतृत्वमा घरदैलो चलिरहेको छ भने प्रदेश २ मा प्रत्यक्ष तर्फका उम्मेदवार श्यामबीर लिम्बू तथा समानुपातिक उम्मेदवार कालुराम मेचेको नेतृत्वमा घरदैलो चलिरहेको छ ।
उम्मेदवारहरू ५ वर्षसम्म यस क्षेत्रको सेवक बन्ने अवसर प्रदान गर्न मतदातासित आग्रह गरिरहेका छन् । मेचीदेखि देउनियासम्मको माटोमा कृषिको उन्नति, उन्नत मल बिऊ, चन्द्रगढीदेखि बाहुण्डागी बुधवारे जोड्ने रिङ रोड, कृष्णथुम्की, चन्द्रगढको पर्यटकीय विकास लगायत ग्रामीण सडक, पिउनेपानी, स्वाथ्य उपचार केन्द्रको स्तरीकरण, विद्यालय, महाविद्यालयको समयानुकुल स्तरीकरण लगायत जनजीविकासित गाँसिएका सवाल लिएर मतदाता भेटिरहेका सवै उम्मेदवार युवा जोस र जाँगर बोकेर आएका देखिन्छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



