
अर्जुनधारा, १३ कात्तिक । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य धर्मशीला चापागाईंले गठबन्धनका उम्मेद्वारहरुलाई जिताउन आबद्ध सबै दलका कार्यकर्ता इमान्दार भएर मतदान गर्न आग्रह गर्नुभएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिदै गएका बेला नेपाली कांग्रेस अर्जुनधारा नगर समितिको कार्यालयमा आयोजित गठबन्धन दलका कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि चापागाईले यो निर्वाचन प्रतिगामी शक्ति र अग्रगामी शक्तिबीचको लडाईं भएको उल्लेख गर्दै मतदान मार्फत प्रतिगामी शक्तिलाई परास्त गरेर जनआन्दोलनमार्फत प्राप्त ऐतिहासिक उपलब्धी रक्षा गर्न जनतालाई आह्वान गर्नुभएको हो ।
कार्यक्रमका विशेष अतिथि एवं नेपाली कांग्रेस प्रदेश नं–१ का सभापति उद्वव थापाले आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा गठबन्धनका उम्मेद्वारलाई अत्यधिक मतले विजयी गराउन कार्यकर्तालाई आह्वान गर्नुभयो ।
झापा क्षेत्र नं–२ प्रदेशसभा २ गठबन्धन दलको चुनाव प्रचार–प्रसार समितिको आयोजनामा झापाको अर्जुनधारामा आयोजित चुनाव लक्षित अन्तरक्रियालाई सम्बोधन गर्दै नेता थापाले देशलाई संवैधानिक संकटबाट बचाउन गठबन्धन भएको चर्चा गर्दै यसको निरन्तरताले मात्रै संविधान र जनआन्दोलनका उपलब्धीहरु रक्षा गर्न सकिने भएकाले गठबन्धनका उम्मेद्वारलाई अत्यधिक मत दिन आह्वान गर्नुभएको हो ।
‘देश संवैधानिक संकटमा फस्न लागेका बेला त्यसको प्रतिरक्षाका लागि लोकतन्त्रका हिमायती दलहरु संविधानको रक्षाका लागि एकै ठाउँमा उभिएका हुन्’–थापाले गठबन्धनको पृष्ठभूमि औल्याउँदै भन्नुभयो–‘संविधानलाई नमान्ने, संसद छलेर संविधान विपरित कार्य गर्ने दललाई जनताले मतदान मार्फत नै परास्त गर्नुपर्छ ।’
कार्यक्रममा झापा क्षेत्र नं–२ का प्रतिनिधिसभा उम्मेद्वार हरिकुमार रानाले अब ब्यवस्था परिवर्तनको आन्दोलन सकिएको र जनताका समृद्धिका लागि काम गर्ने समय आएको चर्चा गर्दै देश र जनताको समृद्धि गठबन्धन दलले मात्रै गर्न सक्ने हुँदा मतदानमार्फत गठबन्धन दललाई ठूलो शक्ति बनाउन अपिल गर्नुभयो ।
कार्यक्रममा झापा क्षेत्र नं–२ प्रदेशसभा २ का उम्मेद्वार खगेन्द्र मैनालीले संविधानको रक्षा, जनताको समृद्धि र समुन्नतिका लागि युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्नु अत्यावश्यक रहेको चर्चा गर्दै नेपाली कांग्रेसले जनताको सेवा, सुविधा र समृद्धिका लागि कांग्रेसले घोषणापत्रमार्फत आफ्ना एजेण्डाहरु जनतामाझ राखिसकेको बताउनुभयो । भौतिक विकास, समृद्धि र उत्पादनलाई जोड्न सके रोजगारी सिर्जना हुने र आयात प्रतिष्थापन गरेर राष्ट्रिय आय बढाउन सकिने उहाँको धारणा थियो ।
प्रचार समितिका संयोजक किरण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहसंयोजक हेमराज खरेलले स्वागतसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो भने सञ्चालन डिल्लीराम सापकोटाले गर्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



