
कनकाई, १८ कात्तिक । झापा क्षेत्र नं. ४ का स्वतन्त्र उम्मेदवार युक्तप्रसाद भेटवालले चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन् ।
झापाको सुरुङ्गामा आज पत्रकार भेटघाट गरी आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेका हुन् । उनले आफ्ना प्रतिबद्धता र क्षेत्र नं. ४ मा गर्नै पर्ने कामहरु समेटेका छन् । उनले घोषणा पत्रमा मेरो उम्मेदवारी किन ?, हामी कसरी काम गर्छौं ?, दल पुनर्संरचना, राज्य पुनर्संरचना, राष्ट्रिय आवश्यकता पहिचान, जैविक अधिकार, आर्थिक संरचना, सामाजिक संरचना, शासकीय स्वरुप, शिक्षा प्रणाली, कृषि, स्वास्थ्य सेवा, रोजगारी, विकास नीति, विदेश नीति लगायतका विषय समेटेका छन् ।
“व्यावहारिक शिक्षा र आधुनिक शिक्षा अहिलेको आवश्यकता हो”, उनले भने, “आधुनिक कृषि पनि जरुरी छ ।” विकास नीति पनि आफ्नै खालको हुनुपर्ने उनको भनाइ छ । मुलुकमा व्याप्त नीतिगत भ्रष्टाचार अन्त्य गर्न सके मात्र सुशासन र विकास सम्भव हुने उहाँको भनाइ छ ।
त्यस्तै, प्रदेश सभा ४ (२) का स्वतन्त्र उम्मेदवार केशव बजगाईंले १४ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । उनले जनताको सोच अनुरुप विकास हुन नसकेकाले देशभर स्वतन्त्रको लहर आएको बताउनुभयो ।
“स्थानीयसँगै प्रतिनिधिसभा र प्रदेशसभामा स्वतन्त्रको प्रतिनिधित्व हुन जरुरी छ”, उहाँले भन्नुभयो, “सरकार र सदनको नकारात्मकता हटाएर सकारात्मक कुरालाई अगाडि बढाउन जरुरी छ ।”
निर्वाचन परिचालन संयोजक शेरबहादुर थापाले झापा क्षेत्र नं. ४ मा अब्बल उम्मेदवार रहेको बताउनुभयो । उहाँले राजनीतिक दल आफ्नो काम–कर्तव्यबाट स्खलित हुँदै गएपछि नयाँ शक्तिको आवश्यकता र उदय हुँदै गएको र त्यो शक्ति भनेको स्वतन्त्र नै भएको बताउनुभयो । राष्ट्रको मुहार फेर्न स्वतन्त्र उम्मेदवारहरुको आवश्यकता बढ्दै गएको उहाँले बताउनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



