
झापा, १९ कात्तिक । प्रदेश १ मा हाल तेस्रो स्थानमा कायम माओवादी केन्द्रले भने आफ्नै नेतृत्वमा प्रदेश सरकार बन्ने कल्पना गर्दै घोषणापत्र सार्वजनिक गरेको छ । ‘प्रतिबद्धता पत्र’ नाम दिएर सार्वजनिक गरेको चुनावी घोषणापत्रमा संघीयता कार्यान्वयनदेखि शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा, उद्योग व्यापार क्षेत्रमा आफूले गर्ने कामका सूची उल्लेख छन् ।
‘उत्पादनमुखी विकास र समुन्नत समाज समाजवादको आधार, सुदृढ संघीयतासहित समृद्ध प्रदेशका लागि माओवादी सरकार’ भन्ने मुख्य नारासहितको प्रतिबद्धता पत्रमा माओवादीले सरकारको नेतृत्व आफैले गर्ने कल्पना गरेको छ ।
संघीयता कार्यान्वयनको मुद्दा आफ्नो प्रमुख प्राथमिकता भएको माओवादीको प्रदेश १ कमिटीले जनाएको छ । जसमा उसले प्रदेश राजधानीको लागि आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार निर्माण कार्य आगामी ५ वर्षभित्रमा सम्पन्न गर्ने, संविधान अनुसार प्रदेशमा हस्तान्तरण हुन बाँकी रहेका संघीय मन्त्रालय मातहतका निकाय र संवैधानिक अधिकार प्रदेश मातहत ल्याउने, पहिचानसहितको नामकरण गर्ने प्रतिबद्धता जनाएको छ ।
प्रतिबद्धता पत्रमा भनिएको छ ‘प्रदेशलाई चाहिने आवश्यक जनशक्तिको प्रक्षेपण गरी सोही अनुसारको जनशक्ति उत्पादन गर्न प्राविधिक शिक्षालय स्थापना गरिनेछ । सबै निर्वाचन क्षेत्रमा कम्तीमा एउटा सुविधायुक्त बहुप्राविधिक शिक्षालय स्थापना गरी प्राविधिक शिक्षा अध्ययन गर्ने र दक्ष जनशक्ति उत्पादन गरिनेछ ।’ माओवादीले प्रदेशका सबै स्थानीय तहमा प्राविधिक धारको विद्यालयसहितको नमुना विद्यालय बनाउने प्रतिबद्धता पनि जनाएको छ ।
पूर्वाधार क्षेत्रमा पनि माओवादीले महत्वाकांक्षी योजनाहरु समेटेको छ । प्रदेशको राजधानी विराटनगर केन्द्रित बृहत चक्रपथ निर्माणको योजना अगाडि बढाउने, प्रदेशमा निर्माणाधीन सडक, पुल, भवनजस्ता आयोजना समयमै सम्पन्न गराउने, प्रत्येक गाउँपालिकाको केन्द्रसम्म पुग्ने सडक, अन्तरस्थानीय तह जोड्ने सडक र मुख्य तथा महत्वपूर्ण पर्यटकीय केन्द्रलाई जोड्ने सडक कालोपत्रे गर्ने, सबै वडासम्म पुग्ने सडकको स्तरोन्नति गरी वर्षभरि सञ्चालन हुनसक्ने अवस्थाको बनाउने प्रतिबद्धतामा उल्लेख छ । तटबन्ध निर्माण र सहरी क्षेत्रको डुबान समस्या समाधानको लागि आवश्यक योजना सञ्चालन गर्ने पनि उसको बाचा छ ।
कृषियोग्य सबै जमिनमा सिंचाइको व्यवस्था गर्न नहर, कुलो सिंचाई, लिफ्टिङ सिंचाई, थोपा सिंचाई आदिको व्यवस्था गर्ने भन्दै प्रतिबद्धतापत्रमा भनिएको छ, ‘सुक्खाग्रस्त क्षेत्रहरुमा लिफ्टिङ प्रविधिमा आधारित सिंचाइको व्यवस्था गरी उत्पादन वृद्धिमा जोड दिइने छ ।’
तमोर र उपल्लो अरुण जलाशययुक्त आयोजना निर्माण कार्य अगाडि बढाउन आवश्यक पहल गर्ने, प्रदेश सरकारको लगानी र सहकारीमा मझौला विद्युत आयोजना सञ्चालनको काम अगाडि बढाउने तथा निर्माणाधीन खानेपानी आयोजनालाई तीव्र गतिमा सम्पन्न गरी सबै नागरिकलाई स्वच्छ खानेपानीको व्यवस्था गर्ने पनि प्रतिबद्धतामा उल्लेख छ ।
प्रदेशका महत्वपूर्ण पर्यटकीय क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गर्ने, स्थानीय तह र पर्यटन सम्बद्ध संस्थाहरूको सहकार्यमा पर्यटन प्रवर्द्धन गरी पर्यटन संस्कृतिको विकास गर्ने भन्दै प्रतिबद्धता पत्रमा प्रदेशमा पर्यटन विश्वविद्यालय स्थापना गर्ने बाचा पनि माओवादीले गरेको छ ।
‘जसको नीति उसैको नेतृृत्व’ हुनुपर्ने भन्दै प्रतिबद्धता पत्रमा भनिएको छ ‘जसको एजेन्डा उसैको सरकार अनि जसको योजना उसैको कार्यक्रम भयो भने मात्र निर्दिष्ट लक्ष्य चुम्न सकिन्छ ।”
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



