
बिर्तामोड, २१ कात्तिक । आगामी आम निर्वाचनमा झापा क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवार बन्नुभएका कुमार भट्टराई सबैको सुखदुःखमा साथ दिएकाले आफूले मत पाउने विश्वास व्यक्त गर्नुभएको छ ।
झापाको बिर्तामोडमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उम्मेदवार भट्टराईले जन्तीदेखि मलामीसम्म सबै प्रकारका खुसी र दुःखमा आफू सहभागी भएकाले आफूले जनताको मत पाउने विश्वास व्यक्त गर्नुभयो । “मैले राप्रपा, कांग्रेस, एमाले सबैको मत पाउँछु”, उहाँले भन्नुभयो, “म पार्टी भन्दा व्यक्तिगत रुपमा सबैसँग घुलमिल भएकाले मलाई मत आउँछ ।” सबै पेसा, व्यवसायमा आबद्धहरु समेत आफूलाई माया गर्ने र मत दिने उहाँले बताउनुभयो ।
उम्मेदवार भट्टराईले आफूले ४५० भन्दा बढी विभिन्न कार्यक्रम गरेर जनजीविकासँग जोडिएको बताउँदै भन्नुभयो, “कोभिडको महामारी होस् या व्यापारीको समस्या, सञ्चारक्षेत्रमा होस् वा अरु कुनै क्षेत्रमा सबै क्षेत्रमा मैले काम गरेको छु, सबैको मत पाउनेमा म विश्वस्त छु ।
भट्टराईले यस क्षेत्रमा २५ हजारभन्दा बढी मत ल्याएर निर्वाचित हुने दावी गर्नुभयो । ट्युवेल चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिनुभएका उम्मेदवार भट्टराईले मंसिर ४ को निर्वाचनमा आफ्नो बलियो उपस्थिति रहने बताउनुभयो ।
पत्रकार भेटघाटका क्रममा उम्मेदवार भट्टराईले १६ बुँदे प्रतिबद्धतापत्र समेत सार्वजनिक गर्नुभएको छ । पद र शक्तिको दुरुपयोग नगर्ने, विधिको शासनभन्दा बाहिर गएर कुनै पनि निकाय र कर्मचारीलाई दवाव नदिने, महत्वपूर्ण मुद्दामा संवाद र छलफल गरी स्पष्ट दृष्टिकोण राख्ने, कुनैपनि मुद्दामा दोहोरो चरित्र प्रदर्शन नगर्ने, सरकारलाई पारदर्शी र जनताप्रति उत्तरदायी बनाउन सँधै खबरदारी गर्नेलगायतका प्रतिवद्धता सार्वजनिक गर्नुभएको छ ।
‘म जनताका लागि भएको , हिजो पनि जनताको बीचमा थिएँ, आज पनि जनताको सेवामा छु, भोलि पनि जनसेवामा सक्रिय हुनु मेरो कर्तव्य हुनेछ’ उहाँले प्रतिवद्धतामा भन्नुभएको छ, ‘मतदाताको बलियो विश्वासको जगमा उभिएर भन्छु, राष्ट्र र राष्ट्रियताप्रति मेरो इमान्दारिता सँधै जाँच होस् ।’
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



