
झापा, २२ कात्तिक । शालिन, तार्किक र अध्ययनशिल जुझारु वामपन्थी नेता हो पुस्पराज पोखरेल । पञ्चायत बिरुद्ध झापा जिल्ला पन्चायतको जन पक्षिय उपसभापतिदेखि मेयर र साँसद्पनि । त्यही परिचयसाथ अगाडि आएका पोखरेल अहिले झापा निर्वाचन क्षेत्र नं. २ अन्तर्गतको प्रदेश १ मा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट प्रदेश सांसदको प्रत्यासी भएका छन् ।
यो पुस्प पोखरेलको बिगतको पहिचान हो । त्यो भन्दापनि उनी परिचित छन्, झापाली कम्युनिष्ट आन्दोलनमा उनले निर्वाह गरेको सत्कर्मले । परिवर्तनका लागि झापा विद्रोह लगायतका कम्युनिष्ट आन्दोलनका लागि उनले गरेको काम सराहनीय मानिन्छ ।
ओखलढुङ्गामा जन्मेका पुस्प परिवारको साथ २०२८ सालबाट झापा आएर सानै उमेरदेखि राजनितिमा होमिए । राजनीति कहिलेकाँही खुसी भन्दा पनि जबरजस्त बनेर जीवनमा आइ लाग्छ, त्यही जीवनका भोगकर्ता हुन पुस्प पोखरेल । १६ वर्षकै उमेरदेखि राजनीतिमा सकिृय उनी झापाली कम्युनिष्ट आन्दोलनको एउटा उचाइमा छन् ।
१८/१९ वर्षको उमेरमा पञ्चायती व्यवस्था विरुद्ध कम्युनिष्ट पार्टीमा लागेर झापा विद्रोहमा सहभागि हुनु राजनीतिक लगावको दर्विलो उदाहरण हो । पार्टी पद्धति र सिद्धान्तमा उनी जति अडिग छन्, विकास निर्माण र नागरिकको समस्याको सवालमा उनी त्यति नै केन्द्रित छन् ।
सानैदेखि पृथक सोच र सकारात्मक धारणा भएका उनी पार्टी पंक्तिमा अध्ययशिल नेता, शालिन र बेदाग ब्यक्तित्वका रुपमा स्थापित छन् । यो उनको पार्टी पंक्तिभित्रको अर्को परिचय हो ।
२०३२ सालबाट भुमिगत कोअर्डिनेसन केन्द्रबाट राजनीतिक यात्रा शुरु गरेका उनी २०३५ मा अनेरास्ववियुको पहिलो झापा जिल्ला संयोजक बनेका थिए । २०३७ सालमा मेची बहुमुखी क्याम्पस भद्रपुरको स्ववियू सभापति भएका पुस्प २०४३ सालमा जनपक्षिय जिल्ला उपसभापतिमा निर्वाचित भए । स्नातकोत्तरको पढाइ सकेर मेची क्याम्पसमा प्राध्यापन गर्न लाग्दा उनलाई स्वर्गिय द्रोणाचार्य क्षेत्रीले देश परिवर्तनका लागि राजनीतिमा अझ सक्रिय गराए । त्यसपछि उनी निरन्तर जनताको पक्षमा उभिएका छन् ।
२०४६ सालमा जिल्ला उपसभापतिबाट राजीनामा दिएर पञ्चायत विरुद्ध आन्दोलमा होमिएका उनी त्यो बेला ३ महिना जेल परे । २०४९ सालमा भद्रपुर नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएका पुस्प पोखरेलले २०५१ सालको मध्यवधि निर्वाचनमा साविक झापा क्षेत्र नं. १ बाट जनताकोे मन जित्दै सासंद भए ।
लामो समय नेकपा एमालेको राजनीतिमा होमिएका पुस्प पोखरेलले पार्टीको केन्द्रिय परिषद सदस्यको जिम्मेवारी पनि वहन गरे । तर पछिल्लो समय नेकपा विभाजनपछि उनी नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य रहेका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



