
भद्रपुर, २४ कात्तिक । नेपाली कांग्रेस नेता एवम् झापा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कृष्णप्रसाद सिटौलाले ३–७३ कार्यान्वयनका लागि गठबन्धनका उम्मेदवारको जीत आवश्यक भएको बताउनुभएको छ ।
चुनावी अभियानका क्रममा भद्रपुरमा आज आयोजित कोणसभालाई सम्बोधन गर्दै नेता सिटौलाले ३–७३ अर्थात ३ वर्षमुनिका बालबालिका र ७३ वर्षमाथिका जेष्ठ नागरिकको निःशुल्क उपचार एवम् युवाहरुलाई रोजगारीको अवसर सिर्जना लगायतका कार्यक्रम घोषणा–पत्रमा उल्लेख गरेकाले त्यसको कार्यान्वयन गर्न गठबन्धनको जीत आवश्यक रहेको बताउनुभयो ।
युवा शक्तिले देश निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै नेता सिटौलाले मुलुकको विकास र समृद्धिको मार्ग प्रस्तत युवाहरुले गठबन्धनलाई मतदान गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै, नेता सिटौलाले चितामा पुगिसकेको राजतन्त्र पुनः नब्युतने उल्लेख गर्दै वर्तमान संवैधानिक व्यवस्था बमोजिम राज्यबाट सुविधा लिएका व्यक्तिले व्यवस्थाको विरोध गरेर हिँड्न नहुने धारणा राख्नुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



