
सन्तोष शर्मा
बिर्तामोड, २५ कात्तिक । झापा क्षेत्र नं. २ यतिबेला चुनावी माहोलले तातेको छ । प्रतिनिधिसभा एवम् प्रदेशसभा निर्वाचन नजिकिएसँगै परिणाम आ–आफ्नो पक्षमा पार्न दलीय तथा स्वतन्त्र उम्मेदवारको चुनावी गतिविधिले यो क्षेत्रको चुनावी माहोल तातेको हो ।
एकातर्फ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को तीन दलीय लोकतान्त्रिक बाम गठबन्धनले आफ्नो चुनावी अभियानलाई तीव्रता दिइरहेको छ भने अर्कोतर्फ नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीको गठबन्धनले चुनावी गतिविधिलाई अझ सशक्त बनाइरहेको छ ।
राजनीतिक पृष्ठभूमिका दुई वटा गठबन्धन दलका उम्मेवारसँगै स्वतन्त्र उम्मेदवार र पार्टी छाडेर बाघी बनेका उम्मेदवार पनि चुनावी मैदानमा छन् । सँगै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले पनि पहिलो पटक झापा २ मा आफ्नो उम्मेदवार खडा गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पनि अबको पालो युवाको भन्दै जनताको मत बटुल्न घरदैलोमा छ । यी पार्टीसँगै अन्य दलका उम्मेदवार पनि आफ्नो चुनावी दौडमा व्यस्त छन् ।
विशेषतः यो क्षेत्रमा प्रत्यक्षतर्फ तीन दलीय लोकतान्त्रिक बाम गठबन्धन र एमाले–राप्रपा गठबन्धनका उम्मेदवार नै प्रतिस्पर्धा हुने देखिन्छ । तर, दुवै उम्मेदवारलाई जीत निकाल्न त्यति सहज देखिँदैन । दुवै उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा हुने देखिन्छ । गत राना एमाले परित्याग गरेर माओवादी केन्द्रबाट उम्मेदवार बनेका हुन् । एमाले त्याग्नु अघि राना र घिमिरेबीचको सहकर्मी हुन् ।
अन्य दलहरु प्रत्यक्षमा जीत नकाल्ने अवस्था देखिँदैन । तथापि, समानुपातिक मत बटुल्न र आफ्नो उपस्थित जनाउन चुनावी मैदानमा छन् । हाल मूलधारको राजनीतिमा रहेका दलहरुप्रति जनताको वितृष्ण बढेको भन्दै आफ्नो दल र उम्मेदवारले जनमत पाउने अन्य दलहरु ठहर गरिरहेका छन् ।
अर्जुनधारा नगरपालिका पूर्व नगरप्रमुख हरिकुमार राना लोकतान्त्रिक बाम गठबन्धनबाट उम्मेदवार हुनुहुन्छ भने एमाले–राप्रपाबाट एमालेका स्थायी कमिटी सदस्य देवराज घिमिरे हुनुहुन्छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुद्रप्रसाद गिरी, नेमकिपाबाट महेन्द्र खायमली, स्वतन्त्रमा अधिवक्ता स्वागत नेपाल र कांग्रेसबाट बाघी उम्मेदवारी दिनुभएका कुमार भट्टराईले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।
विकास र जनतासँग जोडिएका मौलिकतामा आधारित अवधारणासहित आफू चुनावी प्रतिस्पर्धामा उत्रिएको उम्मेदवार हरिकुमार राना बताउनुहुन्छ । जनताको हरेक समस्यासँग आफू जानकार भएको स्थानीयबासीको सुखःदुखमा हातेमालो गरेकाले निर्वाचन परिणाम आफ्नो पक्षमा आउने रानाको दाबी छ ।
“अर्जुनधारा नगरपालिकाको नगर प्रमुखको जिम्मेवारी पूरा गरिरहँदा मैले विकास र जनतासँग जोडिएका कुरा जाने–बुझेको छु”, उहाँले भन्नुभयो, “लामो समय स्थानीय तहमा बसेकाले स्थानीय समृद्धिको आधार मैले बुझेको छु, स्थानीय आवश्यता र समस्या मलाई थाहा छ, जनताले मलाई रोज्नुहुन्छ ।”
झापा क्षेत्र नं. २ मा फोहोर व्यवस्थापन चुनौती पूर्ण बन्दै गएकाले आफ्नो प्राथमिकताको विषय फोहोर व्यवस्थापन भएको उहाँको भनाइ छ । “प्राकृतिक स्रोतको उच्चतम् प्रयोग गरेर आमनागरिकको जीवन परिवर्तन गर्ने मेरो एजेण्डा र संकल्प हो”, उहाँले भन्नुभयो, “यहाँको जल, जंगल र जमिनलाई कसरी उपयोग गर्नुपर्छ भन्ने मलाई राम्ररी थाहा छ ।”
यता, एमाले–राप्रपाका उम्मेदवार घिमिरेले पदमा नबसे पनि लामो समयदेखि पार्टीमा आबद्ध भएर झापा २ का विकास निर्माण, सुशासन लगायतका क्षेत्रमा काम गर्दै आएको बताउनुभयो ।
“समृद्धि मुलुक बनाउन निर्माण गर्नुपर्ने नीति, निर्माणका पक्षमा काम गर्न प्रतिनिधिसभा सदस्यको उम्मेदवार भएको हुँ”, उहाँले भन्नुभयो, “अव्यवस्थित कुरालाई व्यवस्थित बनाउने कुरामा आवश्यक नीति निर्माणका लागि नै मेरो उम्मेदवारी हो ।” केन्द्रीय घोषणापत्र र स्थानीय आवश्यकताका आधारमा आफूले काम गर्ने उहाँको भनाइ छ ।
कांग्रेसबाट बाघी उम्मेदवार बन्नुभएका कुमार भट्टराई जनताले पार्टी भन्दा पनि व्यक्ति हेर्न थालेको बताउनुभयो । “यहाँ दलका कुरा भन्दा पनि व्यक्तिको कुरा महत्वपूर्ण बन्दै गएको छ”, उहाँले भन्नुभयो, “मैले सबैको सुख, दुःखमा भूमिका खेलेको छु, मतदाताले मत दिएर जिताउनुहुन्छ भन्नेमा म विश्वस्त छु ।”
पद र शक्तिको दुरुपयोग नगर्ने, भ्रष्टाचार नगर्ने, स्वास्थ्य, शिक्षा, रोजगार लगायतका क्षेत्रलाई समेटेर १६ बुँदा प्रतिबद्धता समेत उम्मेदवार भट्टराईले जनाउनुभएको छ ।
झापा २ मा अर्जुनधारा नगरपालिका, बुद्धशान्ति गाउँपालिकाको वडा नम्बर १, २ र ३, बिर्तामोडको १ देखि ९ नम्बर वडा र कनकाई नगरपालिकाको ७ र ८ नम्बर गरी २५ वटा वडा छन् ।
यो क्षेत्रमा ६६ हजार ६५७ पुरुष, ६७ हजार ४२९ महिला र ५ जना अन्य गरी एक लाख ३४ हजार ९१ जना मतदाता रहेका छन् । ४९ मतदान स्थल र १२५ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।
गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा २५ वटा वडामध्ये १३ वटा वडा एमाले, ११ वटा वडा कांग्रेस र एक वटा वडामा राप्रपाले जितेको छ । यो क्षेत्रमा कांग्रेस, माओवादी र समाजवादी वडाध्यक्षका उम्मेदवारले ३५ हजार ७८३ मत पाएका थिए भने एमालेका वडाध्यक्षका उम्मेदवारले ३६ हजार १५८ मत पाएका थिए । राप्रपाका वडाध्यक्ष उम्मेदवारले आठ हजार ३८ मत प्राप्त गरेका थिए ।
२०७४ मा झापा २ प्रतिनिधिसभा निर्वाचनमा बामगठबन्धनले जितेको थियो । बामगठबन्धनका तर्फबाट एमालेकी पवित्रा निरौला खरेलले ४५ हजार ८१७ मत पाउनुभएको थियो भने कांग्रेसका उद्धव थापाले ३२ हजार ५० मत प्राप्त गर्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



