
नेकपा एमालेभित्र निष्ठा र सालिन नेताका रुपमा स्थापित नेता हुन्, देवराज घिमिरे । झापा क्षेत्र नं. –२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका उनी अहिले चुनावी घरदैलो अभियानमा छन् । लामो समयदेखि नेपाली जनताको हितमा राजनीतिक एवम् सामाजिक रुपमा क्रियाशिल घिमिरेलाई पार्टीले प्रत्यक्ष रुपमा सेवा गर्ने अवसर मंसिर ४ को निर्वाचनमा प्रदान गरेको छ । राजनीतिक जीवनमा कयौं नेता कार्यकर्ता उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका उनलाई कुशल संगठकका रुपमा चिनिन्छ । अनुशासित एवम् जिम्मेवारीमा प्रतिवद्ध घिमिरेसँग आसन्न निर्वाचनका सन्दर्भमा पत्रकार अच्युत सुवेदीले गरेको कुराकानी प्रस्तुत छ-
चुनावी अभियान कसरी अघि बढाइरहनु भएको छ ?
चुनावी अभियानलाई प्रभावकारी ढंगबाट अघि बढाएका छौं । यस निर्वाचन क्षेत्रभित्र पर्ने सबै पालिका र वडासम्म घरदैलो चलिरहेको छ । उम्मेदवारसहित र उम्मेदवार बाहेक पनि गाउँगाउँसम्म चुनावी प्रचारको कामलाई तिब्रता दिएका छौं । अत्यन्तै उत्साहका साथ यस निर्वाचन क्षेत्रका मतदाता दाजुभाई तथा दिदीबहिनीहरु, आमा बुबा सबैसँग भेटघाट गर्दै मंसिर ४ को निर्वाचनमा एमालेलाई सूर्य चिह्नमा मतदान गरिदिन आग्रह गरिरहेका छौं । हामी उम्मेदवारहरु स्वभाविक रुपमा उत्साहित हुने भइगयौ । तर, यहाँ हाम्रो उम्मेदवारीले मतदाता पनि उत्साहित बनेको देखेर हामीमा थप उर्जा प्राप्त भएको छ । नियमित घरदैलोलाई निरन्तरता दिदैं मतदातासँग आवश्यक सुझाव संकलन गर्दै आशिर्वाद लिने काम समेत भइरहेको छ ।

तपाई निर्वाचित हुनुभयो भने यहाँका जनताले के प्राप्त गर्नेछन् ?
सर्वप्रथम यहाँका जनताले असल प्रतिनिधि प्राप्त गर्नुहुनेछ । किनभने, जीवनको ४७ वर्ष राजनीति मार्फत मैले गरेको सेवामा कहिकतैं प्रश्न उठाउन दिएको छैन । म सधैं विकास, समृद्धि र सुशासनको पक्षमा रहदै आएको छु । म भ्रष्टाचार विरोधी मान्छे हो । भ्रष्टाचार गर्न पनि दिन्न र गर्दिन पनि । यसो भए पछि सुशासन कायम हुने भयो । अर्को, प्रशासन क्षेत्रको सेवालाई चुस्त बनाउनेछु । अहिले प्रशासनमा आम नागरिक कामका लागि पुग्दा असाध्यै झंझट व्यहोर्नुपर्छ । मैले देखेको ठुलो समस्या पनि हो, यो ।
त्यसैले प्रशासनको सेवालाई छिटो र छरितो बनाउछु । आवश्यकता र मागलाई मध्यनजर गरेर विकासका योजनाहरु ल्याउनेछु । अव्यवस्थित बसोबास गर्ने, भूमिहीन गरिव सुकुम्बासीका लागि संविधानले व्यवस्था गरेको आवासको ग्यारेण्टी गर्नेछु । भौतिक पूर्वाधारका क्षेत्रमा बृहत्तर योजना बनाई कार्यान्वयन गर्दै जानेछु । तपाई सम्पूर्ण मतदाता र शुभचिन्तकहरुको आशिर्वाद र सल्लाहमा निर्वाचित भइसकेपछि काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । र, ज्येष्ठ नागरिकको निमित्त आवश्यक सेवा,सुविधा समेतको व्यवस्था गर्नेछु । तपाईको प्रश्नले सोधे जस्तो जवाफ दिए कि दिन सकिन । तथापि, यहाँका जनताले म बाट जिम्मेवारी र जवाफदेही प्रतिनिधिको आभास प्राप्त गर्नुहुनेछ । अहिले अधुरा रहेका विकासका तमाम योजनाहरु मेरो कार्यकालभित्र सम्पन्न भएको देख्न पाउनु हुनेछ । खेल क्षेत्रको पूर्वाधार विकास गरिनेछ ।
झापा क्षेत्र नम्बर २ मा तपाईका प्राथमिकताका विषय के हुन् ?
प्राथमिकताका विषयहरु असिमित छन् । शिक्षा, स्वास्थ्य, रोजगार र विकास नै प्राथमिकता भित्रका प्राथमिक विषयहरु हुन् । नागरिकका दैनिक जीवनसँग जोडिएका सबै विषयवस्तुहरु मेरो पहिलो प्राथमिकतामा पर्नेछ । यो क्षेत्र झट्ट हेर्दा सुगम जस्तो लाग्छ । यहि क्षेत्रका कतिपय भूभाग दुर्गम छन् । आधारभूत सडक सञ्जाल समेत नभएको ठाउँहरु देखेको छु । खानेपानी, विजुलीका समस्या पूर्ण रुपमा समाधान गर्दै जानेछु । यो क्षेत्र स्वास्थ्य हवका रुपमा विकास भइरहेको छ । त्यसको थप व्यवस्थापनमा मेरो प्राथमिकता हुनेछ । सुन्दर र हराभरा बनाउन, वातावरण संरक्षण गर्न विज्ञको सल्लाहमा योजना निर्माण गरी कार्यान्वयन गर्दै जानेछु ।
शहरीकरणको विकासले फोहारमैला व्यवस्थापन कठिनाई भइरहेको देखेको छु । भलै, अहिले साउन भदौको जस्तो समस्या छैन । दीर्घकालिन व्यवस्थापनका लागि मेरो तर्फबाट अवश्य सहयोग हुनेछ । सबैको सहयोगबाट काम गर्दै जानेछु ।
यो क्षेत्रमा तपाईले के कस्ता समस्याको पहिचान गर्नु भएको छ ?
खासगरी मतदाताका पूर्वाधारसँग सम्बन्धित समस्या नै धेरै छन् । त्यसमा पनि मुलत बाटाघाटाहरु, उत्तरी भेगमा खोलाले दुःख दिएको, त्यसलाई नियन्त्रण गर्न तटबन्ध, पूल निर्माण र दक्षिणी भेगमा हात्तीको समस्या जटिल बनेको छ । त्यस्तै स्वास्थ्य सुबिधा अन्तरगत स्वास्थ्य चौकी वा हस्पिटल निर्माण, बिद्यालयको स्तरबृद्वि र रोजगारीका समस्या उठिरहेका छन् । त्यसको समाधानका लागि कस्ता योजनाहरु रहेका छन् भनेर मतदाताले सोधिरहनुभएको छ र त्यसमा म प्रतिवद्वता जनाइरहेको छु । लामो समयदेखि बन्न नसकेको हर्कलाल मार्ग जस्ता सडकहरु मैले नोट गरेको विषय हो । निर्वाचि भएपछि शुरु नै हर्कलाल मार्गबाट गर्ने मेरो योजना छ । समस्याहरु अनगिन्ती छन्, मैलेभन्दा पनि आम नागरिकले भोग्दै आएका समस्याको पहिचान गरेर समाधान गर्दै जानुपर्ने हुन्छ । यहाँ, गफ गरेर केहि हुने छैन । निर्वाचित गराउनुहोस्, काम गरेर देखाउने मेरो काम हो ।
तपाईको प्रतिस्पर्धी कसलाई ठान्नु भएको छ ?
नेकपा एमालेको मुख्य प्रतिष्पर्धी भनेको देशभर गठबन्धनको उम्मेदवार हुन् । यसलाई छलकपट गर्नैपदैन । तर, झापाको यस क्षेत्रमा अलिक फरक छ । वास्तवमा, मेरो प्रतिस्पर्धी देख्दिन । मेरो प्रतिष्पर्धी छैन भने पनि हुन्छ ।
दलहरुप्रति वितृष्णा र स्वतन्त्रप्रति आकर्षण बढेको छ भनिन्छ । यो अवस्थामा दलप्रति आकर्षण बढाउन के गर्दै हुनुहुन्छ ?
यो गलत कुरा हो । अपवादका घटनालाई जोडेर स्वतन्त्रप्रति आकर्षण भएको भन्न मिल्दैन । झापामा स्वतन्त्रको कुनै अर्थ छैन । अझ मेरो क्षेत्रमा कोहि स्वतन्त्र उम्मेदवार बन्नु भएको छ भने त्यो एउटा मजाक मात्रै हुन्छ । इन्जोएमेन्टका लागि कसैले उम्मेदवारी दिएका हुन सक्छन् । त्यसै विषयलाई स्वतन्त्रप्रति आकर्षण भन्न मिल्दैन ।
दलप्रतिको एउटा बिरोध हुन सक्छ । जनताका समस्या समाधान नभएर दलहरुप्रति बिरोध गरेको होला । यसको मतलव स्वतन्त्र प्रति आकर्षण भन्न मिल्दैन । अहिलेसम्मको परिवर्तन दलहरुले नै ल्याएको भन्ने कुरा सबैमा हेक्का छ । स्वतन्त्रले दललाई गाली मात्रै गर्ने हुन् । जसको कतै योगदान छैन, योजना छैन कार्यक्रम छैन । उसले दलहरुलाई गाली गरेर हिड्ने नै हो । अर्को कुरा स्वतन्त्रले जिते पनि सरकार बनाउने स्थिति हुदैन । संविधानले स्वतन्त्रको परिकल्पना पनि गरेको छैन । त्यसैले स्वतन्त्रलाई मतदान गर्नु भनेको बलुवामा पानी मात्रै हुन्छ । यसैले मतदानमा सोचविचार गर्नुहोस्, भन्न चहान्छु । दलहरुका कमिकमजोरी सच्याएर जान सकिन्छ । दलहरुको विकल्प स्वतन्त्र हुन सक्दैनन् ।
दलहरु प्रति आकर्षण गर्ने कुरा जहाँसम्म छ, यो संभव छ । नयाँ पुस्तालाई राजनीतिक दलले ल्याएका परिवर्तन बारे बुझाउन सकिन्छ । त्यसमा पनि नेकपा एमाले जस्तो राष्ट्रबादी शक्तिले गरेका कामहरुलाइृ अध्ययन गर्ने र बुझ्ने कोशिस गर्ने हो भने आकर्षण सहजै हुनेछ ।
गठबन्धनलाई परास्त गर्न सक्ने तपाइको आधार के छ ?
मुख्य आधार भनेकै एमालेले यो राष्ट्रमा गरेका काम हुन् । यो कुरालाई नेपाली जनताले मज्जाले बुझ्नु भएको छ । एमालेबाट गठबन्धनलाई मत जाँदैन । बरु, झापा २ मा गठबन्धनको समेत एमालेलाई मत आउनेमा हामी विश्वस्त छौ । जसले गर्दा गठबन्धन बलियो छैन ।
उम्मेदवारहरु चुनाव जितेपछि गाउँ फर्कदैनन् भन्ने आरोप छ नि ?
अँ त्यो असन्तुष्टि जनताबाट मैले पनि पाएको छु । गाउँ फर्किने भन्दा पनि उनीहरुले बाचा पुरा गरे कि गरेनन् भन्ने हो । उम्मेदवार यहीँ भए दवाव दिन सकिन्छ भन्ने हो । तर काम गर्ने प्रतिवद्वता पाएपछि त्यो कुराले खासै फरक पार्दैन जस्तो लाग्छ मलाई । जनतालाई नेताको उपस्थिति भन्दा पनि विकास चाहिएको छ । म यसै ठाउँको बासिन्दा नफर्किने त कुरै छैन । त्यो भन्दा पनि मैले विकासलाई प्राथमिकतमा दिनेछु । मैले गर्ने विकास देखेर जनताले मलाई सम्झिरहनेछन् । र, उहाँहरुले मेरो काम देखेर भन्नुहुनेछ , तपाईलाई गाउँ आउने फुर्सद नभए नहोस्, यसरी नै विकास गरिदिनुहोस् ।
निर्वाचन आयोगले भड्किलो चुनाव प्रचारको शैलीलाई परिमार्जन गरेको छ । यसले कतिको प्रभाव पारेको छ ?
त्यो चाहिँ छ । हिजोको शैलीमा कसको पक्षमा कति जनमत छ भन्ने आंकलन हुन्थ्यो भने आज त्यस्तो देखिँदैन । जसले गर्दा प्रतिकृया पनि बुझ्न सकिन्यो त्यो अहिले बुझ्न गाह्रो भएको चाहिँ पक्कै हो । तर, हामी पनि भड्किलो चुनावको पक्षमाा छैनों । एमालेले जनताको निम्ति गरेका काम नै पर्याप्त भएको हुँदा चुनावमा तडकभडक जरुरी छैन ।
अन्त्यमा आम मतदातालाई के भन्नुहुन्छ ?
आम मतदातालाई हिजोका प्रतिनिधिले के कारणले काम गर्न सकेनन् भन्ने कुरा चाहिँ बुझिदिन अनुरोध गर्छु । त्यो कारण ठिक हो कि हैन निष्पक्ष भएर बुझिदिन पनि अनुरोध छ । अब काम गर्ने आधार हामीले जे दिएका छौँ त्यसमा बिश्वास राखेर आगामी मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चार वटै मतपत्रमा सूर्य चिन्हमा मतदान गरेर एमालेका उम्मेदवारलाई बिजयी गराइदिनु हुन अनुरोध गर्दछु । एमालेले विजय हासिल गर्न सकेन भने देश फेरि दुर्घटनामा पर्नेछ । देशलाई जोगाउने हो भने राष्ट्रबादी शक्ति एमालेको विजयी आवश्यक छ । यदि गठबन्धनको हातमा देश पुग्यो भने सारा नेपालीले दुख पाउनुपर्ने छ । देश विकास गरेर समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पुरा गर्न सूर्य चिह्नमा मतदान गर्नुहोस् । धन्यवाद ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



