
बिर्तामोड, २६ कात्तिक । झापा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार अधिवक्ता स्वागत नेपालले आफ्नो उम्मेदवारी दलका उम्मेवारविरुद्ध नभई गरिबी, अन्याय, अभाव र अविकासविरुद्ध भएको बताउनुभएको छ ।
झापाको बिर्तामोडमा आज पत्रकारसँग संक्षित कुरा गर्दै उहाँले आफ्नो उम्मेदवारी दलका उम्मेवारसँग प्रतिस्पर्धा गर्न नभई जनताको विकासप्रतिको चहना पूरा गर्न भएको बताउनुभयो ।
उहाँले स्वतन्त्रको पक्षमा जनलहर बढ्दै गएको बताउनुभयो । “जनताले स्वतन्त्रहरुसँग ठूलो अपेक्षा गरिरहेका छन्”, उहाँले भन्नुभयो, “त्यसैले पनि मुलुकमा स्वतन्त्रप्रति जनलहर बढ्दै गएको छ ।”
क्रस खुकुरी चुनाव चिह्न लिएर चुनावी प्रतिस्पर्धामा रहनुभएका अभिवक्ता नेपालले झापा क्षेत्र नं. २ मा खसेको मतको ६० प्रतिशत मत आफूलाई खस्ने दाबी गर्नुभयो । अहिले ८० प्रतिशत जनताको झुकाव स्वतन्त्र रहेको पाएको उहाँको भनाइ छ ।
किसान र कृषि क्षेत्रको विकासलाई आफ्नो मूल चुनावी एजेण्डा बनाएको उहाँले बतानुभयो । “कृषिकले उत्पादनको मूल्य पाइरहेका छैनन्”, उहाँले भन्नुभयो, “कृषि भण्डारण केन्द्र बनाउन सके मात्र पनि किसानले दोब्बर मूल्य पाउँछन्, हामीले कृषि र किसानलाई विशेष प्राथमिकता दिएका छौँ ।”
आफ्नो पक्षमा जनलहर बढ्दै गएकाले विभिन्न लाञ्छना लगाउने र भ्रमित पार्ने काम भइरहेको उहाँले गुनासो गर्नुभयो । “आचार संहिता इमान्दारलाई नै बढी लाग्दो रहेछ”, उहाँले भन्नुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



