
भद्रपुर, २८ कात्तिक । झापा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेवार डम्बर गिरीले झापा क्षेत्र नं. ३ मा आफ्नो जीत सुनिश्चित भएको दाबी गर्नुभएको छ ।
झापाको भद्रपुरमा आज ‘युवा नेतृत्व र पुस्ता हस्तान्तरणमा युवाको भूमिका’ विषय कार्यक्रममा उम्मेदवार गिरीले अब मुलुकको नेतृत्वमा युवा जानुपर्ने र यस क्षेत्रको युवाहरुको साथ र समर्थन आफूलाई रहेकाले आफ्नो जीत सुनिश्चित रहेको दाबी गर्नुभयो ।
‘सोच बदलौं, परिवर्तनका लागि भोट बदलौं’ भन्ने मूल नारा लिएर चुनावी अभियानमा लाग्नुभएका उहाँले पुरानो पुस्ताबाट विकास र समृद्धि नहुने भएको उल्लेख गर्नुभयो ।
हल्दिबारी गाउँपालिकामा उपाध्यक्षको भूमिकामा रहेका बेला धेरै विकास र जनमुखी काम गरेको उल्लेख गर्दै त्यसको लेखाजोखा मतदाताले राखेकाले आफूले जित्नेमा कुनै शंका नरहेको बताउनुभयो । ‘जनप्रतिनिधिको भूमिकामा रहँदा विकाससँगै रोजगारीको बाटाहरु पहिल्याएर स्वदेशमै युवा टिकाउने काम गरें’, उहाँले भन्नुभयो, ‘युवालाई विदेशमा बिकाउने होइन, स्वदेशमै टिकाउने नीति जरुरी छ, जसका लागि मेरो उम्मेवारी हो ।”
झापा क्षेत्र नं. ३ का उम्मेवार कांग्रेस नेता सिटौलालाई रेष्ट गर्न र राप्रपा अध्यक्ष लिङ्देनलाई समृद्धि नभई पार्टी निर्माणमा जुट्न सुझाव दिँदै उहाँले परिवर्तनशील सोच राख्ने युवाहरुलाई काम गर्ने मौका दिन आग्रह गर्नुभयो ।
नेकपा एमालेबाट बाघी उम्मेदवारी दिएका गिरीले झापा ३ मा एमालेकै भोटले आफूले जित्ने दाबी गर्नुभयो । ‘अघिल्लो चुनावमा हामीले पार्टी निर्देशन मानेर भोट हाल्यौं’, उहाँले भन्नुभयो, ‘आफ्नो इच्छाविपरीत कार्यकर्तालाई घोक्र्याएर भोट हाल्ने काम अब हुँदैन, जनआन्दोलनमा चन्द्रगढीमा दमन भइरहँदा त्यसकै पक्षमा ताली पड्काउनेहरुलाई कसरी भोट हाल्ने ?’
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



