
सन्तोष शर्मा
झापा, २९ कात्तिक । झापा क्षेत्र नं. १ ले यतिबेला मुलुककै ध्यान खिचेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) का दुई ‘हेवी वेट’ बीचको प्रतिस्पर्धाले झापा १ ले मुलुककै ध्यान खिचेको हो ।
चुनावी रणमैदानमा परिणाम आफ्नो पक्षमा पार्न मुख्यतः यहाँ पाँच दलका दुई गठबन्धनबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र एमाले–राप्रपा तालमेलका तर्फबाट अग्नि खरेल उम्मेदवार बन्नुभएको छ । खरेल र शर्मासहित यो क्षेत्रमा १५ जनाको उम्मेदवारी परेको छ । जसमध्ये ३ जना स्वतन्त्र उम्मेदवार छन् ।
दोस्रो संविधानसभा निर्वाचन–२०७० मा एमालेका रविन कोइराला र २०७४ को संसदीय चुनावमा माओवादी केन्द्रका राम कार्कीसँग पराजय भोग्नु भएका शर्मा तेस्रो पटक चुनावी मैदानमा हुनुहुन्छ भने एमाले स्थायी कमिटी सदस्य खरेल आफ्नो गृह क्षेत्र झापा २ भए पनि झापामा इन्ट्री गर्नुभएको छ । संसद छिर्ने प्रयासलाई मूर्तरुप दिन जनताको ‘म्याण्डेड’का लागि शर्मा र खरेल दुवै अहोरात्र खटिरहनुभएको छ ।
महामन्त्री शर्मा सुकुम्बासी समस्या समाधान, पुल निर्माण, नदी कटान नियन्त्रण, पर्यटकीय केन्द्रका स्तरीकरण, झापा १ जोड्ने रिङरोड निर्माण लगायतका स्थानीय विकास र चासोको विषयलाई समेट्ने मतदाता समक्ष प्रतिबद्धता जनाउँदै हुनुहुन्छ । “जनताले स–साना कुराहरु खोजिरहेका छन्”, उहाँले भन्नुभयो, “त्यसैले हामी गर्न सक्ने कुरा मात्र गर्छौं, नसक्ने कुराको हामी सपना बाँड्न आएको छैनौं ।”
पदमा नरहँदा पनि झापा क्षेत्र नं. १ को सडक निर्माण, सामाजिक रुपान्तरण, स्वास्थ्य सेवा लगायतका क्षेत्रका काम गरेको शर्माको भनाइ छ । संविधानको रक्षा, लोकतान्त्रिक शासन पद्धतिको विकास र राजनीतिमा परिवर्तनका लागि गठबन्धन आवश्यक रहेको उल्लेख गर्दै शर्माले गठबन्धनका उम्मेदवारलाई जिताएर जनताको समृद्धिका लागि काम गर्ने अवसर दिन अपिल गर्नुभएको छ ।
यता, एमाले–राप्रपा तालमेलका उम्मेदवार खरेलले आफूले जहिले विकास र निर्माणको संसदीय प्रक्रियामा आफू गाँसिएको मान्छे भएको बताउनुभयो । “जनताको समस्या मेरो समस्या हो”, उहाँले भन्नुभयो, “मैले ती समस्या बुझेको छु ।”
मेची, निन्दा, हडिया खोलमा बर्सेनि आउने बाढीले त्यहाँका स्थानीय समस्यामा पर्ने भएकाले तटबन्धन निर्माण गर्न आफू प्रतिबद्धत रहेको खरेलको भनाइ छ । हात्ती समस्या नियन्त्रणका लागि प्रवकारी कार्य गर्ने उहाँले बताउनुभयो । “यहाँका समग्र समस्या समाधानका लागि हामी प्रतिबद्ध छौं”, उहाँले भन्नुभयो, “हामीलाई मतदान गरे विजय गराउन मतदाता समक्ष अनुरोध गर्दछौं ।”
शर्मा र खरेल दुवैले स्थानीय अवस्था, आवश्यकतालाई र केन्द्रीय घोषणा–पत्रलाई आधार बनाएर प्रतिबद्धता जनाइरहनुभएको छ । दुवै जनाले आफ्नो जीत सुनिश्चित भएको दाबी गरिरहे पनि परिणाम आफ्नो पक्षमा पार्न त्यति सहज छैन ।
२०५७ सालमै कांग्रेसको महाधिवेशन प्रतिनिधि हुँदै ०७२ सालमा केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको शर्मा ०७४ सालमा पार्टीका प्रवक्ता हुनुभयो । २०७६ सालमा कांग्रेसको तर्फबाट सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख हुनुभएका उहाँ हाल नेपाली कांग्रेसको महामन्त्री पदमा हुनुहुन्छ ।
यता, २०६४ र २०७० सालको संविधानसभा सदस्य रहनुभएका वरिष्ठ अधिवक्ता खरेल पूर्वकानून मन्त्री हुनुहुन्छ भने हाल उहाँ एमालेका स्थायी समिति सदस्य र झापा इञ्चार्ज हुनुहुन्छ । उहाँको कानूनको ज्ञाता समेत मानिनुहुन्छ ।
झापा क्षेत्र नं. १ मा लोकतान्त्रिक बाम गठबन्धन अन्तरगत प्रत्यक्षतर्फ प्रतिनिधिसभामा सदस्यमा शर्मा, प्रदेशसभा १ मा गोपाल तामाङ र २ मा श्यामविर लिम्बू चुनावी मैदानमा हुनुहुन्छ भने एमाले–राप्रपा तालमेल अन्तरगत खरेल, प्रदेशसभा १ मा रविन कोइराला र २ मा सविना बजगाईं कट्टेल हुनुहुन्छ ।
मेचीनगर नगरपालिकाका १५ वटै वडा, भद्रपुरको ९, १० नम्बर वडा र बुद्धशान्ति गाउँपालिकाको ४, ५ , ६, ७ वडा मिश्रित झापा क्षेत्र नं. १ मा लाख २० हजार ३७५ मतदाता छन् । जमध्ये करिब १३ हजार नयाँ मतदाता थपिएका छन् ।
स्थानीय चुनावमा वडाध्यक्षले प्राप्त गरेको मतअनुसार यहाँ एमालेसँग ३१ हजार २३२ मत छ भने कांग्रेससँग २४ हजार ५९ मत छ । राप्रपासँग पाँच हजार ९२२ मत रहेको क्षेत्रमा माओवादीसँग तीन हजार ९०५, एकीकृत समाजवादीसँग एक हजार २५२ र लोकतान्त्रिक समाजवादी पार्टीसँग २६२ मत छ ।
गत स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने यहाँ खरेलको पल्ला भारि देखिन्छ तर नयाँ थपिएको मतदाता र चुनावको मुखमा दल अदलबदलको क्रमले चुनावी प्रतिस्पर्धा पेचिलो बन्ने निश्चित छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



