
झापा, ३० कात्तिक । प्रदेश १ मा आफ्ना पार्टीको तर्फबाट उम्मेदवार रहेका विभिन्न क्षेत्रमा आयोजित सभालाई सम्बोधन गर्न माओवादी अध्यक्ष प्रचण्ड आज आउने भएका छन् । माओवादी केन्द्र प्रदेश १ ले दिएको जानकारी अनुसार अध्यक्ष प्रचण्ड सुनसरी, मोरङ, भोजपुर, खोटाङ र ताप्लेजुङका चुनावी सभामा सहभागी हुनेछन् ।
प्रचण्ड र नेपाली काँग्रेसका प्रवक्ता डा।प्रकाशरण महतसहितका नेताहरु बिहान ११ बजे मोरङको गछियामा हुने चुनाबीसभामा सहभागी हुनेछन् । ११ बजे हुने सभास्थान मोरङ क्षेत्र नं. ६ हो । सो क्षेत्रमा नेपाली काँग्रेसका नेता डा.शेखर कोइराला प्रतिनिधिसभामा र माओवादी नेता जीवन आचार्य प्रदेशसभामा उम्मेदवार छन् ।
गछियाको सभापछि प्रचण्डको टोली १२ः३० बजे धरानको भानुचौकमा हुने गठबन्धनको सभामा सहभागी हुनेछ । सुनसरीको क्षेत्र नम्बर १ मा गठबन्धनबाट माओवादी केन्द्रका मुक्साहाङ मेन्याङ्बो उम्मेदवार छन् ।
प्रचण्डसहितका नेताहरु २ बजे ताप्लेजुङमा आयोजित सभामा सहभागी हुनेछन् । ताप्लेजुङमा गठबन्धनबाट माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री उम्मेदवार छन् । ताप्लेजुङपछि ३ बजे भोजपुरको पौवादुम्मा गाउँपालिकाको तिवारी भञ्ज्याङमा आयोजित सभामा प्रचण्ड सहभागी हुने कार्यक्रम छ । भोजपुरमा माओवादी केन्द्रका नेता सुदन किराती गठबन्धनबाट प्रतिनिधिसभाको उम्मेदवार छन् ।
भोजपुरपछि प्रचण्डको टोली ४ बजे खोटाङको दिक्तेल पुग्नेछ । खोटाङमा प्रतिनिधिसभामा माओवादी केन्द्रका रामकुमार राई उम्मेदवार छन् । चुनावी अभियानको क्रममा प्रचण्ड पहिलो पटक प्रदेश १ आउन लागेका हुन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



