
सन्तोष शर्मा
झापा, १ कात्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ठूला पाँच दलका दुई पुरानै अनुहार दोहोरिएका छन् ।
नेपाली कांग्रेस, नेकपा (माओवादी) केन्द्र र नेकपा (एकीकृत समाजवादी) को तीन दलीय लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट देउवान थेवे र नेकपा (एमाले)–राष्ट्रिय प्रजातन्त्रको तालमेलबाट लालप्रसाद साँवा (एलपी) हुनुहन्छ ।
२०७४ को संसदीय चुनावमा पनि बलियो प्रतिस्पर्धी रुपमा थेवे र साँवा नै हुनुहुन्थ्यो । ०७४ संसदीय चुनावमा साँवाले ४३ हजार ५१५ मत ल्याएर विजयी हुनुभएको थियो भने थेवेले २६ हजार ८२२ मत ल्याउनुभएको थियो ।
पाँच दलका यी दुई उम्मेदवारसहित यहाँ प्रतिनिधिसभामा १८ उम्मेदवार चुनावी मैदानमा छन् । त्यस्तै, प्रदेशसभा १ र २ मा २२ जना उम्मेदवार छन् ।
प्रतिनिधिसभामा नेपाली कांग्रेस वीपीका तर्फबाट दुर्गाप्रसाद घिमिरे, मंगोल नेशनल अर्गनाइजेशनका तर्फबाट दिलिप धिमाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका तर्फबाट ग्यासुदिन मिया, राष्ट्रिय जनमुक्ती पार्टीका तर्फबाट मनकुमार ताम्बादेन (लिम्बू), हाम्रो नेपाली पार्टीका तर्फबाट युक्तप्रसाद भेटवाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट लाहानसिं तुम्बापो, नेपाल मजदुर किसान पार्टीका तर्फबाट विक्रम काँसिछवा, जनमत पार्टीका तर्फबाट सत्यनारायण राजवंशी, जनता समाजवादी पार्टी नेपालका तर्फबाट हर्कराज राई र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट शुम्भुप्रसाद ढकाल चुनावी मैदानमा हुनुहुन्छ ।
त्यस्तै, स्वतन्त्रहरुमा खुश्बु ओली, लक्ष्मीनारायण खनाल, पूर्णकुमार लिम्बू (फेजुङ), कमलबहादुर पौडेल, किरण श्रेष्ठ, नन्दराज राई लगायत हुनुहुन्छ ।
यतिबेला यी उम्मेदवार आ–आफ्ना प्रतिबद्धताका साथ जनताको घरदैलोमा मत माग्न व्यस्त छन् । सँगै जनताका समस्या सुन्ने, बुझ्ने र पूरा गर्ने आश्वानस दिने काममा सबै उम्मेवार एकाग्र भएका छन् ।
झापा ४ मा आफूले शुरु गरेका अधुरा काम पूरा गर्न आफ्नो उम्मेदवारी रहेको उम्मेदवार साँवा बताउनुहुन्छ । संसदीय यात्रा शुरु गरेको एक–डेढ वर्षमै कोरोना भाइरसको महामारीले काम गर्न नपाएको उहाँको भनाइ छ ।
“मैले शुरु गरेका योजनाहरु अधुरै छन्”, उहाँले भन्नुभयो, “त्यसलाई पूरा गर्न मैले उम्मेदवारी दिएको हुँ ।” चुनावी घरदैलोको क्रममा आफूले घोषणा गरेका काम ग्यारेन्टीका साथ गर्ने दृष्टिकोण र भिजन राखेको उहाँको भनाइ छ । यहाँको प्रमुख समस्या नदी कटानबाट पीडित बनेको नागरिकलाई सुरक्षित गर्नु रहेको साँवाले बताउनुभयो ।
यता, शिक्षा, स्वास्थ्य, सञ्चार, रोजगार पर्यटन लगायतका ३५ बुँदे प्रतिबद्धता पत्रसहित मतदाताको घरदैलोमा पुगिरहनुभएका उम्मेदवार थेवे भन्नुहुन्छ, “म पद रहे पनि नरहे पनि यो क्षेत्रको समस्या समाधान योगदान गरेको छु ।”
स्थानीय समस्या समाधानमा जहिले अघि रहेकाले मतदातको यस पटकको आशा र भरोषा आफूमाथि रहेको उहाँको दाबी छ । “यहाँको स्थानीय विकास निर्माणमा म प्रत्यक्ष संलग्न भएको छु”, उहाँले भन्नुभयो, “धेरै काम गरेको छु, अझै गर्नु छ ।”
उता, हाम्रो नेपाल पार्टीसँग सहकार्य गरेर चुनावी चिह्न ‘लौरो’ लिएर मैदानमा उत्रिनुभएका पुराना बामपन्थी नेता युक्त भेटुवालले पुराना दल र पुराना नेताबाट मुलुकको विकास र समृद्धि सम्भव नभएकाले आफू चुनावी मैदानमा उत्रिएको बताउनुहुन्छ ।
झापा ४ मा गर्नैपर्ने विभिन्न १७ वटा बुँदामा कार्ययोजना बनाएर चुनावी अभियानमा भेटुवाल सक्रिय हुनुहुन्छ । उहाँको प्रतिबद्धता पत्रमा राष्ट्रिय आवश्यकता, जैविक अधिकार, आर्थिक संरचना, शासकीय स्वरुप, शिक्षा प्रणाली, कृषि, स्वास्थ्य सेवा, रोजगारका विषय समेटिएको छ ।
यस्तै, विभिन्न कारणले राष्ट्रिय स्तरमै चर्चाको विषय बन्ने गर्नुभएकी खुस्बु ओली पनि यतिबेला झापा ४ मा मतदाताको घरदैलोमा हुनुहुन्छ । राप्रपाबाट झापा ४ मा उम्मेदवार सिफारिस भई चुनावी अभियान थाल्नुभएकी उहाँ एमाले–राप्रपा तालमेलपछि पछि हट्न पार्टीबाट निर्देशन भए पनि पार्टी निर्देशन विपरीत बाघी उम्मेदवारी दिँदै क्रस खुकुरी चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवार बन्नुभएको छ ।
“यस क्षेत्रले विकास पाउन सकेका छैन”, उहाँले भन्नुभयो, “झापा जिल्लामै दुर्गम क्षेत्रको रुपमा चिनिएको यो क्षेत्रको परिवर्तनका लागि मैले उम्मेदवारी दिएकी हुँ ।” नदी कटान, धनीपूर्जा, बेरोजगारी, नागरिकता लगायतका धेरै समस्याले यो क्षेत्र आक्रान्त बनेकाले सोको समाधानका लागि आफू उम्मेदवार बनेको उहाँले बताउनुभयो । जितेपछि यहाँको जनताको जीवनस्तर उकास्ने र उत्थानका निम्ति पाँच वर्षे कार्यकाल खर्चने उहाँको भनाइ छ ।
मुख्यतः गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यमा थेवे, प्रदेश १ मा झलकसिंह दर्लामी र प्रदेश २ मा एकराज उप्रेती हुनुहुन्छ भने एमाले–राप्रपा तालमेलबाट प्रतिनिधिसभा सदस्यमा साँवा, प्रदेश १ मा राधाकृष्ण खनाल र प्रदेश २ मा भक्ति सिटौला हुनुहुन्छ ।
क्षेत्र नं ४ मा पुरुषतर्फ ६२ हजार २२, महिला ६१ हजार एक सय एक र अन्य एक गरी एक लाख २३ हजार एक सय २४ मतदाता रहेको र ६३ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहेका छन् ।
झापा ४ मा शिवसताक्षी नगरपालिका, झापा गाउँपालिका, कनकाई नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६ र ७ नम्बर वडा, गौरादहको वडा नम्बर ९ र गौरीगञ्जको १ र २ नं. वडा पर्छ ।
गत स्थानीय तह निर्वाचनको मत परिणाम अनुसार यो क्षेत्रमा कडा प्रतिस्पर्धा हुने देखिन्छ । २८ वटा वडामध्ये एमाले १५ वटा वडा, कांग्रेस ११, माओवादी केन्द्र एक र स्वतन्त्र उम्मेदवारले एक वटा जितेको छ ।
स्थानीय तह निर्वाचनमा यहाँ एमालेका वडाध्यक्षका उम्मेदवारले ३१ हजार २७३, कांग्रेस–माओवादीसहितको गठबन्धन दलका वडाध्यक्षका उम्मेदवारले ३२ हजार ८९२, राप्रपाका वडाध्यक्षका उम्मेदवारले चार हजार ५५६ मत पाएका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



