
सुरेश आले ‘सर्जु’
बिर्तामोड, १ मंसिर । नेपाली कांग्रेसको गढ मानिएको बिर्तामोड १० का अधिकांश मतदाताहरु गठबन्धनका उम्मेदवार कृष्णप्रसाद सिटौलालाई जिताउन लागेका छन् ।
बिर्तामोड १० मा रहेका २६ वटा टोल विकास संस्थामध्ये १७ वटा टोल सिटौलाको पक्षमा देखिएका हुन् । सैनिक क्याम्प, उत्तर भुतेनी, उदय रत्न, पत्थरभिट्टा, शिबालय, भुपू सैनिक, गौरव, इलामेली, जर्मन, काली मुनी, मधुपोखरी, लक्ष्मी नारायण, हाम्रो तेलगानी, तेलगानी, ठुटेबर, पश्चिम विराटपोखर, सैनिकबजार, दक्षिण चमरधाप, शिवालय भीमसेन टोलका मतदाताहरु सिटौलाको पक्षमा छन् । आफ्नो टोलमा रहेका ८५ घरधुरीमध्ये ७ वटाबाहेक सबै घरधुरी सिटौलाको पक्षमा रहेको सैनिक क्याम्प टोल विकास संस्थाका अध्यक्ष वासुदेव गुरुङले बताए ।

त्यस्तै उत्तर भुतेनी टोलमा ७८ घरधुरी छन् । तीमध्ये ५–६ घरबाहेक सबैले उम्मेदवार सिटौलालाई सघाउने भएको उत्तर भुतेनी टोल विकास संस्थाका अध्यक्ष हेमु गुरुङले बताए । यसरी टोल टोलको मत आउने देखिएको छ ।
झापा क्षेत्र नं ३ अन्तर्गतको बिर्तामोड १० मा ६ हजार ७३ मतदाता रहेका छन् । कूल मतदातामध्ये ८० प्रतिशत मतदाता गठबन्धनका उम्मेदवारको पक्षमा रहेको बिर्तामोड १० का वडाध्यक्ष दुर्योधन गुरुङले दावी गरे । कांग्रेसका गुरुङ लगातार दोस्रो कार्यकाल निर्वाचित भएका हुन् ।गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा कांग्रेसका गुरुङले १९९२ विजयी मत ल्याउँदा एमाले र राप्रपाबाट उठेका उनका प्रतिष्पर्धी रिमानध्वज लोक्तामले १५७० मत पाएका थिए । बिर्तामोड १० मा स्थायी बसोबास रहेका कांग्रेसका जिल्ला सचिव नवीन बिमलीको त्यस क्षेत्रमा राम्रो प्रभाव रहेको बताइन्छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



