
भद्रपुर, १ मंसिर । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गते हुने निर्वाचनले मुलुकको भाग्य र भविष्य निर्धारण गर्ने बताउनुभएको छ ।
झापाको इँटाभट्टामा आज चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनले मुलुकको भाग्य र भविष्य निर्धाण गर्ने भएकाले मतदातालाई सचेत भएर मतदान गर्न आग्रह गर्नुभयो ।
मुलुकको समृद्धि एमाले नेतृत्वको सरकारले मात्र सम्भव हुने अध्यक्ष ओलीले दाबी गर्दै त्यसका लागि एमाले प्रतिबद्ध भएर अघि बढेको उल्लेख गर्नुभयो । उहाँले एमालेका उम्मेदवार योग्य भएकाले प्रकाशमय, ज्योतिमय नेपाल बनाउन उनीहरुलाई मतदान गर्न अपिल गर्नुभयो ।
“हामी जे भन्छौं त्यो गर्छौं”, उहाँले राप्रपासँगको तालमेलको बारेमा प्रष्ट पार्दै भन्नुभयो, “एमालेले प्रतिबद्ध भएर राप्रपालाई भोट हाल्छ, राप्रपाको उम्मेदवार जिताउने जिम्मेवारी एमालेले पूरा गर्छ ।”
गठबन्धन ‘मिल्ने र खाने’का लागि मात्र भएको आरोप लगाउँदै अध्यक्ष ओलीले एमालेलाई ढाल्ने, हराउन हिम्मत नभएपछि गठबन्धन गरिएको बताउनुभयो ।
चुनावी सभामा एमाले–राप्रपाका तर्फका झापा क्षेत्र नं. १ का साझा उम्मेदवार अग्नि खरेलले आफ्ना प्रतिबद्धताहरु मतदाता सामु राख्नुभएको थियो । उहाँले आफ्नो जीवनको सबैभन्दा सुखद र सम्झन लायकको काममा संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।
त्यस्तै, कार्यक्रममा प्रदेशसभा १ सदस्यका उम्मेदवार रविन कोइराला र प्रदेशसभा २ की उम्मेदवार सविना कट्टेल बजगाईंले आ–आफ्ना चुनावी एजेण्डा र प्रतिबद्धता राख्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



