
भद्रपुर, ७ मंसिर । झापा क्षेत्र नं. १ को आज बिहानको मत परिणाम अनुसार प्रतिनिधिसभातर्फ गठबन्धनका उम्मेदवार विश्वप्रकाश शर्मा नेपाली कांग्रेस महामन्त्री ११ हजार ६१५ मतले अगाडि हुनुहुन्छ ।
६३ हजार दुई मत गणना गर्दा महामन्त्री शर्माले ३१ हजार ११५ मत प्राप्त गनुभएको झापा क्षेत्र नं. १ का निर्वाचन अधिकृत टंकबहादुर महतले जानकारी दिनुभयो ।
त्यस्तै, नेकपा (एमाले) का उम्मेदवार अग्निप्रसाद खरेलले १९ हजार ५०० मत प्राप्त गर्र्दै दोस्रो स्थानमा हुनुहुन्छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमनाथ भण्डारीले छ हजार १२६ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ । ६३ हजार दुई मत गणना गर्दा तीन हजार ५९४ मत बदर भएको निर्वाचन अधिकृत महतले जानकारी दिनुभयो ।
त्यसैगरी, क्षेत्र नं. १ प्रदेश (२) मा प्रदेशसभा सदस्य पदकी उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टीकी सबिना बजगाईंले आठ हजार ९४० मतका साथ अगाडि हुनुहुन्छ भने गठबन्धनतर्फका उम्मेदवार श्यामविर लिम्बूले आठ हजार २५१ मत प्राप्त गर्दै पछ्याइरहनु भएको छ । हालसम्म यहाँ २१ हजार ९७४ मतगणना हुँदा एक हजार ९७ मत बदर भएको छ ।
यसैगरी, क्षेत्र नं. १ प्रदेश (१) का प्रदेशसभा सदस्य पदका गठबन्धनतर्फका उम्मेदवार गोपाल तामाङ १२ हजार २७४ मत प्राप्त गर्दै अग्रस्थानमा हुनुहुन्छ भने एमालेका उम्मेदवार रविन कोइरालाले १० हजार ६७७ मत प्राप्त गर्दै पछ्याइरहनु भएको छ । यहाँ २७ हजार ७५ मतगणना हुँदा एक हजार ४७२ मत बदर भएको निर्वाचन अधिकृत महतले जानकारी दिनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



