
झापा, ७ मंसिर । झापा क्षेत्र नं. ३ को प्रदेशसभा १ मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी विजयी हुनुभएको छ ।
उम्मेदवार राजवंशी २० हजार सात सय ७० मत ल्याएर विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिनुभयो । उहाँका निकटतम् प्रतिद्विन्दी नेकपा (एमाले)का बसन्त बानियाँले १९ हजार सात सय एक मत प्राप्त गर्नु भएको छ । झापा क्षेत्र नं. ३ को प्रदेशसभा १ मा ४५ हजार २९५ मत खसेको थियो ।
को हुन् भूमिप्रसाद राजवंशी
बी.कम., बी.एड. उत्तीर्ण राजवंशीले २०४७ सालदेखि २०७४ सालसम्म प्रा.वि., मा.वि.मा शिक्षण गर्नुका साथै स्रोत व्यक्तिका रूपमा समेत उहाँले शैक्षिक क्षेत्रमै योगदान गर्नुभएको छ ।
झापा जिल्लाको दक्षिणी भेगका विभिन्न सामुदायिक विद्यालयहरूमा अंग्रेजी शिक्षा पठनपाठन गराउन अग्रणी भूमिका निर्वाह गर्नुभएका र सामुदायिक विद्यालयहरूमा कम्प्युटर सम्बन्धी पठनपाठनका लागि स्रोत जुटाउने काम उहाँले गर्नुभएको थियो ।
कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा विद्यार्थीकालदेखि सक्रिय हुनुभएका भूमिप्रसाद राजवंशी शिक्षण पेशामा रहँदाताका शिक्षक युनियनको केन्द्रीय पार्षदसम्म बन्नु भएको थियो । पेशाबाट निवृत्त भएपछि नेपाली कांग्रेस पार्टीको विभिन्न पदमा क्रियाशील उहाँ महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य हुँदै हाल महाधिवेशन सदस्य र पार्टीको प्रदेश नं. १ कार्यसमिति सदस्य हुनुहुन्छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



