
झापा, ११ मंसिर । प्रतिनिधि सभा निर्वाचनमा होमिएका एक दर्जन मन्त्रीमध्ये ५ मन्त्री निर्वाचित भएका छन् भने ६ जनाले हारेका छन् । निर्वाचित भएका मन्त्रीहरूमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, श्रम तथा रोजगार मन्त्री शेरबहादुर कुँवर, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडु, अर्थमन्त्री जनार्दन शर्मा र शहरी विकासमन्त्री मेटमणि चौधरी रहेका छन् ।
पौडेलले वाग्लुङ–२, बडु दार्चुला, श्रम तथा रोजगारमन्त्री कुँवर अछाम–१, शहरी विकासमन्त्री चौधरी दाङ र अर्थमन्त्री शर्मा रूकुम पूर्वबाट निर्वाचित भए ।
यता ऊर्जा तथा जलस्रोत मन्त्री पम्फा भुसाल, राज्य मन्त्री उमेश श्रेष्ठ, पर्यटन मन्त्री जीवनराम श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक), खानेपानी तथा सिँचाइमन्त्री उमाकान्त चौधरी र गृहमन्त्री बालकृष्ण खाँणले हार ब्यहोर्नुपरेको छ ।
भुसालले ललितपुर–३, उमेश श्रेष्ठले चितवन–२, जीवनराम श्रेष्ठले काठमाडौं–८, गहतराजले बाँके–१, चौधरीले बारा–१ र खाँणले रूपन्देही–३ बाट प्रतिस्पर्धा गरेका थिए । सुनसरी ४ मा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको झिनो अग्रता छ । तर अनश्चितकालका लागि मतगणना रोकिएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



