
झापा, २३ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले भेटेका छन् । सत्ता गठबन्धन नयाँ सरकारका लागि बहुमत जुटाउने कसरतमा रहेका बेला बिहीबार बिहान खुमलटारमा सिटौला र प्रचण्डबीच वार्ता भएको हो ।
प्रधानमन्त्रीका रुपमा निरन्तरता चाहेका कांग्रेस सभापति शेरबहादुर देउवाले तीन दिनयता तीन जनाभन्दा धेरै दूतहरुलाई खुमलटार पठाइसकेका छन् । दुई दिनअघि देउवाको दूतका रुपमा गृहमन्त्री बालकृष्ण खाँण र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पुगेका थिए । मंसिर ४ को निर्वाचनपछि पहिलो पटक आफूलाई भेट्न आएका सिटौलासँग प्रचण्डले अबको प्रधानमन्त्रीका रुपमा आफ्नो इच्छा प्रकट गरेको स्रोतले जनाएको छ ।
नेपाली कांग्रेसमा भावी प्रधानमन्त्रीका लागि विवाद रहेका बेला प्रचण्ड पनि पाँच वर्षे कार्यकालमध्ये पहिलो अढाई वर्ष प्रधामन्त्री हुने योजनामा छन् । यस्तोमा सिटौलासँग भएको संवादलाई अर्थपूर्ण मानिएको छ। तर प्रचण्डले प्रधानमन्त्रीका रुपमा आफ्नो इच्छा व्यक्त गरेको कुराको औपचारिक पुष्टि गरेको छैन ।
यता सचिवालयले भने मंसिर ४ को निर्वाचनमा विजयी भएकोमा चुनाव जितेकोमा प्रचण्डलाई बधाई नेता सिटौला खुमलटार गएको जनाएको छ ।
सत्ता गठबन्धन दल कांग्रेसमा देउवा, महामन्त्री गगन थापा र वरिष्ठ नेता रामचन्द्र पौडेलल पनि प्रधानमन्त्रीका दाबेदार छन् । गठबन्धनमा देउवा, प्रचण्ड र माधवकुमार नेपालले पनि प्रधानमन्त्रीको इच्छा देखाइरहेका छन् । नेपाल खबरबाट
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



