
झापा, १० पुस । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले क्रिसमसको अवसरमा शुभकामना दिनुभएको छ ।
इसाई धर्मावलम्बीहरूको मुख्य चाड क्रिसमसको सुखद अवसरमा मुख्यमन्त्री राईले प्रदेश नं. १ सहित देश, विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं प्रगतिको कामना गर्दै शुभकामना दिनुभएको हो ।
‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण सुन्दर देश नेपालमा मनाइने विभिन्न चाडपर्वले सुदृढ सामाजिक एकता कायम गर्ने विश्वास पनि व्यक्त गर्दछु’, शुभकामना सन्देशमा भनिएको छ, ‘इसाई धर्मका संस्थापक येशु ख्रीष्टको जन्मोत्सव आज नेपालसहित विश्वभर भव्य रुपमा मनाइँदै छ । येशु ख्रीष्टको जन्मदिनको अवसरमा हरेक वर्ष २५ डिसेम्बरमा संसारभर विशेष महत्वका साथ क्रिसमस पर्व मनाउने गरिन्छ । यस पर्वका अवसरमा प्रभु येशुको शिक्षा एवं उपदेशको मनन गर्ने, आपसमा प्रेम प्रकट गर्ने र शुभकामना उपहार आदानप्रदान गर्ने परम्परा छ ।’
‘नेपालको संविधानले नेपाललाई बहुभाषिक, बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकको रुपमा स्वीकारे गरेकाले एकातिर आ–आफ्नो आस्थाअनुसारको धर्म, संस्कृति, रीति–रिवाज मान्न पाउने अधिकार र स्वतन्त्रता सुरक्षित छ भने अर्कोतिर सबै भाषा, धर्म, संस्कृति र चाडपर्वको संरक्षण एवम् सम्बद्र्धन गर्नु राज्यको र सबै नेपालीको साझा दायित्व र कर्तव्य हो’, उहाँले भन्नुभयो, ‘हाम्रा जुनसुकै चाडपर्व, संस्कृति र परम्पराहरू राष्ट्रिय एकता, पारस्परिक सद्भाव र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणका लागि महत्वपूर्ण छन् । क्रिसमसले सबै नेपालीबीच एकआपसमा विश्वास र बन्धुत्वको भावना कायम राख्न प्रेरणा प्रदान गरोस् भन्ने कामनासहित संसारभरि फैलिएर रहेका नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा यस अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



