
झापा, ३० चैत । चालू आर्थिक वर्ष (आव) २०७९–८० को पहिलो ७ महीनामा खाना पकाउने एलपी ग्यासको खपत घटेको पाइएको छ । नेपाल आयल निगमले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा गत साउनदेखि माघसम्ममा २९ करोड ४२ लाख २७ हजार किलो एलपीजी खपत भएको छ । गत आव २०७८–७९ को सोही अवधिमा यो परिमाण ३० करोड ९९ लाख १४ हजार किलो थियो ।
यो तथ्यांकले आव २०७८–७९ तुलनामा चालू आवमा १ करोड ५६ लाख ८७ हजार किलोले एलपीजी खपत घटेको छ । नेपाल आयल निगमका अधिकारीहरू देशमा एलपीजीबाट बल्ने चूल्होको विकल्पका रूपमा प्रयोग हुने विद्युतीय उपकरणको प्रयोग बढेपछि यो स्थिति आएको बताउँछन् । ‘खाना पकाउने, पानी तताउनेलगायत काममा बढीजसो एलपीजी प्रयोग हुने हो। पछिल्लो समय यस्ता कार्यमा विद्युतीय उपकरणको प्रयोग बढ्दै गएको छ । त्यही भएर एलपीजी खपत घटेको हुनसक्छ’, निगमका सहप्रवक्ता पुस्कर कार्कीले भने । कार्कीले खपतमा कमी देखिए पनि एलपीजी प्रयोगकर्ताको दायराचाहिँ फराकिलो बन्दै गएको बताए । आजको आर्थिक अभियान दैनिकमा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



