
बिर्तामोड, १२ बैशाख । अलैंची प्रशोधन र प्याकेजिङमा संलग्न मजदुरलाई खाद्य स्वच्छता सम्बन्धी एक दिने अभिमुखीकरण दिइएको छ ।
नेपाल अलैंची ब्यवसायी महासंघ केन्द्रीय समितिको आयोजना र बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा अलैंची कटिङ, ग्रेडिङ र प्याकेजिङमा संलग्न मजदुरलाई खाद्य स्वच्ता सम्बन्धी अभिमूखिकरण दिएको हो । अलैंची खाद्य पदार्थ भएकाले यसको स्वच्छतामा ध्यान दिनुपर्ने भएकाले अलैंची प्रशोधन र प्याकेजिङमा संलग्न मजदुरहरुलाई एक दिने अभिमुखीकरण प्रदान गरिएको हो । खाद्य गुण नियन्त्रण कार्यालय झापाका प्रमुख नारायणप्रसाद भट्टराईले ८५ जना सहभागीलाई खाद्य स्वच्छता सम्बन्धी जानकारी दिनुभएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै बिर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाईले कुनै पनि काममा निपूर्ण हुन र सफलता प्राप्त गर्न सो विषयमा जानकार हुनुपर्ने बताउनुभयो । अलैंची मजदुरको क्षमता अभिबृद्धि गर्न र उनीहरुमा दक्षता अभिबृद्धि गर्न अभिमुखीकरण आयोजना गरिएको बताउनुभयो । “दक्ष मानिसलाई काम गर्न सजिलो हुन्छ’, उहाँले भन्नुभयो, “त्यस्ता मानिस श्रम बजारमा टिक्छ पनि बिक्छ पनि ।” उहाँले स्वदेशी वस्तुको उत्पादन र उपभोगमा ध्यान दिनुपर्नेमा जोड समेत दिनुभयो ।
कार्यक्रममा उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले मजदुरको क्षमता अभिबृद्धि हुँदा निर्यातजन्य वस्तुको निर्यातमा सहजता आउने बताउनुभयो । अर्का केन्द्रीय सदस्य नरेशलाल श्रेष्ठले निर्यातजन्य वस्तुको उत्पादन र निर्यातका लागि सरकारले विशेष सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । बिर्तामोण उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले विदेशी मुद्रा आर्जनको दर्बिलो माध्यमका रुपमा अलैंची रहेकाले यसको प्रबद्र्धनमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा अलैंची व्यवसायी महासंघले उद्योग बाणिज्य महासंघमा भर्खरै निर्वाचित केन्द्रीय सदस्यद्वय श्रेष्ठ र डालमियालाई सम्मान समेत गरेको छ । त्यस्तै, महासंघले मुलुकमा अलैंचीको खपत बढाउन तयार पारेको रेसिपी बुक समेत नगरप्रमुख महतारालाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा महासंघले नगरपालिकाको सहकार्यमा वैदेशिक रोजगारीबाट फर्केकालाई लैंची कटिङ, ग्रेडिङ र प्याकेजिङ तालिम दिएकाहरुलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।

महासंघका अध्यक्ष निर्मल भट्टराईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत महासंघकी केन्द्रिय उपाध्यक्ष पार्वता बिमली खरेलले गर्नुभएको थियो । त्यस्तै, अध्यक्ष भट्टराईले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सञ्चालन महासंघका कार्यकारी अधिकृत अनिल ढुङ्गानाले गर्नुभएको थियो भने उद्घाटन कार्यक्रमको समापन महासंघका बरिष्ठ उपाध्यक्ष इन्दचन्द विन्दलले गर्नुभएको थियो । कार्यक्रममा जर्मन नागरिक वी लुक, महासंघका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



