
झापा, १४ बैशाख । कोशी प्रदेश सरकारको बेरुजु एक वर्षमै १ अर्ब ४९ करोड ९८ लाख ५९ हजार पुगेको छ ।
महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रदेशको पाचौं लेखापरीक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा प्रदेश सरकारको पाँच वर्षमा बेरुजू बढेर १ अर्ब ४९ करोड ९८ लाख ५९ हजार पुगेको हो ।
यो सँगै प्रदेश संरचना गठन भएको पाँच वर्षमा बेरुजु रकम चार अर्ब ९६ करोड ३३ लाख ९४ हजार रुपैयाँ पुगेको छ ।
प्रतिवेदन अनुसार सबैभन्दा बढी बेरुजू प्रतिशत कृषि मन्त्रालयमा रहेको छ भने स्वास्थ्य मन्त्रालयलगायतमा सबैभन्दा कम बेरुजू देखिएको छ ।
प्रतिवेदनले सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको बेरुजू ४९ करोड ६२ लाख ७० हजार (४.६२ प्रतिशत), खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालयको ४६ करोड ४ लाख १८ हजार (७.५६ प्रतिशत), कृषि मन्त्रालयको २२ करोड ८३ लाख ४९ हजार (१३.०१ प्रतिशत), वन वातावरण तथा भू संरक्षण मन्त्रालयको ९ करोड ११ लाख १८ हजार (४.५५ प्रतिशत), स्वास्थ्य मन्त्रालयको ६ करोड ७३ लाख ५९ हजार (१.९८ प्रतिशत) र अन्य मन्त्रालय र निकायको ३० करोड २७ लाख ९८ हजार रुपैयाँ (१.२१ प्रतिशत) बेरुजू देखिएको छ ।
सरकारी कार्यालयतर्फ सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालयमा बढी रकम बेरुजू देखिएको र कम भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा देखिएको प्रतिवेदनमा उल्लेख छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



