
बिर्तामोड, १६ बैशाख । झापाको बिर्तामोडस्थित सुनकोशी बचत तथा ऋण सहकारी संस्थाले सदस्य केन्द्रित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
गत बैशाख ६ गतेदेखि शुरु भएको सदस्य अन्तरक्रिया कार्यक्रम आज शनिबार सम्पन्न भएको हो । मुख्य कार्यालय र डाँगीबारी सेवा केन्द्र अन्तरगतका सदस्यहरुसँग सहकारीले अन्तरक्रिया गरेको संस्थाका सचिव कमल पराजुलीले जानकारी दिनुभयो ।
पछिल्लो समय सहकारीहरुप्रति आमनागरिकको धारणा गलत भइरहेको र सहकारीको नकारात्मक गतिविधि उजागर भइरहेकाले संस्थाको वस्तुगत अवस्थाका बारेमा सदस्यलाई जानकारी दिने उद्देयश्ले अन्तरक्रिया गरिएको अध्यक्ष गंगाराम ओडारीले जानकारी दिनुभयो ।
निरन्तर रुपमा १० दिनसम्म आयोजना गरिएको कार्यक्रम संस्थाको बिर्तामोड कार्यालय स्थित सभाहल र राजवंशी समाजको भवन डाँगीबारीमा सम्पन्न भएको थियो । अन्तरक्रियामा अन्तर्राष्ट्रिय स्तरमै देखिएको वित्तीय संकट अवस्थामा पनि सुनकोशी साकोस सजह ढङ्गबाट सञ्चालन भइरहेको सदस्यलाई अवगत गराइएको थियो ।
सदस्यहरुबाट संकलित बचत तथा शेयर रकम सदस्यहरु बीचमै लगानी भएको, कार्य क्षेत्रभित्र मात्र लगानी गरिएको, सहकारी ऐनले तोकेको सीमाभित्र मात्र सञ्चालकहरुमा कर्जा लगानी भएको, बाह्य कर्जा नभएको, बचत तथा कर्जामा मापदण्ड बमोजिमको स्प्रेडदर कायम गरिएको, सदस्यहरुको बचत तथा शेयरलाई घर, जग्गा जस्तो स्थिर सम्पत्ति खरिद गर्न प्रयोग नगरिएको, सीमित सदस्यहरुलाई ठुलो स्केलमा कर्जा लगानी नगरिएको र संस्थामा आवश्यक तरलता कायम रहेको सचिव पराजुलीले बताउनुभयो ।
समापन कार्यक्रमको प्रमुख आतिथ्य बिर्तामोड नगरपालिका सहकारी विभाग प्रमुख डिल्ली दाहालले गर्नुभएको थियो । उहाँले सदस्य ऋण लिइसकेपछि ऋण तिर्नुपर्नेमा जोडदिनुभयो । उहाँले हल्लाको पछि नलागेर संस्थाप्रति इमान्दार भएर ऋण तिर्नुपर्ने बताउनुभयो ।
सदस्यहरुलाई स्वागत संस्थाकी उपाध्यक्ष रञ्जु प्याकुरेल, हरि ओका, हेमप्रसाद राजवंशीले गरेका गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन तथा तथ्यगत विवरणहरुको प्रस्तुतिकरण संस्थाका सचिव कमल पराजुलीले गर्नुभएको थियो ।
संस्थाको चालु आवको चैत मसान्तसम्म शेयर पुँजी २ करोड १ लाख २२ हजार ३००, बचत रकम १० करोड ४७ लाख, कर्जा लगानी ११ करोड १५ लाख ४२ हजार, आम्दानी १ करोड ३९ लाख ७६ हजार, अपरिस्कृत नाफा १६ लाख ९९ हजार ९२० रहेको छ ।
२०६३ साल २६ जना सेयर सदस्यको २ लाख ६० हजार शेयर पुँजीबाट स्थापना भएको संस्थामा हाल सेयर सदस्य २२ सय ४२ जना रहेका छन् भने कर्मचारी १६ जना रहेको संस्थाका सञ्चालक समिति सदस्य सञ्जयराज पोखरेलले जानकारी दिनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



