
सन्तोष शर्मा
बिर्तामोड, १७ बैशाख । सहकारीविरुद्धको अभियानलाई निस्तेज पार्दै समग्र सहकारी अभियानलाई बचाउन यहाँका सहकारी संस्थाहरु एकत्रित भएका छन् ।
सहकारीहरु अप्ठ्यारो परिस्थितिमा रहेका बेला एकअर्काबीच सहयोग र सहकार्य गर्दै समग्र सहकारी अभियानलाई बचाउन यहाँका सहकारी संस्थाहरु एकत्रित भएका हुन् । आज बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै प्रारम्भिक चरणमा डेढ दर्जनको हाराहारीमा सहकारी संस्थाहरु एकत्रित भएर ‘कोअपरेटिभ एलायन्स अफ झापा’ गठन गरिएको सहकारी अभियन्ता रामचन्द्र उप्रेतीले जानकारी दिनुभयो ।
“अहिले समग्र सहकारी अभियान अप्ठ्यारो अवस्थामा छ”, उहाँले भन्नुभयो, “विभिन्न तवरबाट सहकारी बचाउन अभियान चलाइँदै आएको छ, सहकारी बचाउने अभियानमा थप सहयोग गर्ने उद्देश्यले एउटा संस्था गठन गरेका हौं ।” सात सदस्यीय कोअपरेटिभ एलायन्स अफ झापाको सदस्यमा रामचन्द्र उप्रेती, टसबहादुर प्रधान, मोहन शिवाकोटी, रुद्रमणि श्रेष्ठ, दुर्गा खतिवडा, महेन्द्र गिरी र खोमप्रसाद बगाले रहेका छन् ।
सहकारी स्वनियममा चल्नुपर्ने संस्था भएकाले सहकारीको १४ वटा सूचांक पूरा गरेका सहकारीहरु कोअपरेटिभ एलायन्सको सदस्य बन्न पाउने जनाइएको छ । सहकारीको मापदण्ड सूचांक पूरा गरे÷नगरेको मासिक रुपमा हेरिने जनाइएको छ ।
वित्तीय सन्तुलन मिलाउन नसक्दा धेरै सहकारी समस्यामा परेको सदस्य खोमप्रसाद वाग्लेले बताउनुभयो । “ऋण लिएर तिर्नुपर्दै भनेर भ्रम फैलाउने, कर्मचारीलाई धम्क्याउने–दुव्र्यवहार गर्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “सहकारी क्षेत्रमा समेत केही विकृति भएकाले सुदृढीकरण गर्न जरुरी छ ।”
एकाध सहकारीमा समस्या आयो भन्दैमा सबै सहकारीलाई एउटै ढोकोमा हाल्ने काम हुँदा सहकारी अभियान नै समस्यामा पर्दै गएको सहकारी अभियन्ता टसबहादुर प्रधानले बताउनुभयो । “सुशासनमा चलेका संस्थालाई बचाउनुपर्छ”, उहाँले भन्नुभयो, “सहकारी सदस्यको संस्था हो, सहकारीलाई बचाउनु पर्छ ।”
गलत गर्ने सहकारीलाई सजाय दिनुपर्ने अर्का सहकारी अभियन्ता हिमालयप्रकाश कन्दंवाले बताउनुभयो । “सहकारी स्वनियमा चल्नुपर्ने संस्था हो”, उहाँले भन्नुभयो, “सहकारीले सहकारीको नीति, नियम र मापदण्ड विपरीत गर्दा समस्या देखिएको छ, गलत गर्नेलाई काबारही गर्नुपर्छ ।”
देशका विभिन्न भागमा केही प्रारम्भिक सहकारी संस्थाहरु समस्याग्रस्त हुँदा सिंगो सहकारी अभियान समस्या ग्रस्त भएको हो कि भन्ने कतिपय सदस्य र सर्वसाधारणमा सहकारीप्रतिको विश्वासमा शंका उत्पन्न भएकाले र सोही समयमा केही व्यक्ति र समूहले कर्जा तिर्नुपर्दैन भनेर भ्रम छरेकाले झापामा पनि सोको असर परेको सदस्य भोलाप्रसाद धितालले बताउनुभयो । “अबको प्रयास सहकारी अभियानलाई जोगाउने र झापामा सहकारी अभियान सशक्त बनाउने हो”, उहाँले भन्नुभयो ।
झापामा सहकारीको माध्यमबाट बचत तथा ऋणको मात्र कारोबार नभई सदस्यको आवश्यकता पूरा गर्नेगरी डेरी उद्योग, चिया उद्योग, मह उद्योग, सहकारी पसल, बिऊ बिजन उत्पादन, चक्लाबन्दी खेती, कृषि उपज खरीद बिक्री, विद्यालय तथा अस्पताल सञ्चालन, सहकारी आवास लगायतका काम भइरहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



