
झापा, २५ बैशाख । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाले चालू आर्थिक वर्षको बितेको नौ महिनाको वित्तीय कारोबारको समीक्षा गरेको छ । संस्थाका ६ वटा क्षेत्रीय समन्वय समिति स्तरमा बैशाख १६ गतेदेखि २४ गतेसम्म विभिन्न मितिमा बेग्ला बैग्लै समीक्षा बैठक सम्पन्न गरिएको हो ।
संस्था अन्तरगतको बचत तथा ऋण ब्यवसाय उपसमितिले बिर्तामोडमा पनि वैशाख २४ गते वार्षिक बजेट समीक्षा एवम् आर्थिक वर्ष २०८०÷०८१ को बजेट निर्माण एवम् रणनीति तयारी बैठक सम्पन्न गरेको छ ।
संस्था अन्तरगत विर्ता अर्जुन क्षेत्रीय समन्वय समितिका १२ वटा कार्यालयबाट उपसमिति संयोजक, सदस्य र विभागीय समितिका संयोजक र सदस्यहरु तथा सेवा केन्द्र प्रमुखहरुको सहभागितामा उक्त समीक्षा बैठक सम्पन्न गरिएको हो ।
व्यवसाय उपसमितिका संयोजक तथा संस्था सञ्चालक समितिका सदस्य ठाकुरप्रसाद सिवाकोटीको अध्यक्षतामा सम्पन्न बैठकमा संस्थाले विगत ९ महिनामा गरेको वित्तीय कारोबारको समीक्षात्मक विवरणको प्रस्तुत गरिएको थियो ।
बैठकको अध्यक्षता गरिरहनु भएका संयोजक सिवाकोटीले सेवा केन्द्रहरुले नै बनाएको बजेटको लक्ष्य कति प्रतिशत हासिल भयो भन्ने कुरा समिति र कर्मचारीहरुको कसीको विषय बन्ने बताउनु भयो
प्रस्तावित बजेटलाई लक्ष्यको नजिक पुर्याउन कसको के भूमिका हुनुपर्छ भन्ने विषयमा प्रारम्भमा नै निर्धारण गरिनुपर्ने सुझाउँदै सिवाकोटीले कर्जाको गुणस्तर कायम राख्न नसक्नु सबैभन्दा ठूलो समस्या भएको औंल्याउनु भएको थियो ।
समीक्षा बैठकमा संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले बजेट निर्माण गर्दा कति मात्रामा सत्य तथ्य आंकलन गरिएको थियो भन्ने कुरा समीक्षामा प्रष्ट हुने बताउँदै निर्धारित लक्ष्यमा आज हरियो लाग्यो कि रातो भन्ने कुरा बजेट निर्माण गर्दा आफूहरुले अपनाएको नीतिकै कारण भएको प्रष्ट पार्नु भयो ।
बजेट बनाउँदा स्रोत, साधन र क्षमताजस्ता कुराहरुलाई तथ्यपरक विश्लेषण गर्न सकियो भनेमात्र सो को कार्यान्वयमा पनि सकारात्मक रिजल्ट आउने भएकाले यसतर्फ सबै कार्यालय प्रमुखहरु र उपसमितिका संयोजक सदस्यहरुलाई उहाँले सचेत गराउनु भयो ।
सो समीक्षा बैठकमा संस्थाका कर्जा विभाग प्रमुख सुवोध बु्ढाथोकीले समग्र संस्थाको अवस्था, क्षेत्रगत अवस्था एवम् सेवा केन्द्रगत अवस्थाबारे विवरणहरु प्रस्तुत गर्नुभएको थियो ।
उक्त वार्षिक बजेट समीक्षा एवम् आर्थिक वर्ष २०८०÷०८१ को बजेट निर्माण एवम् रणनीति तयारी बैठकमा व्यवसाय प्रमुख मनिष कोइरालाले योजना तर्जुमा गर्दा नै सो को कार्यान्वयनमा सफलता वा असफलताको सूचक थाहा हुने प्रष्ट पार्नुभएको थियो । उहाँले बजेट तथा कार्यक्रम निर्माणका आधारभूत विशेषताहरु केलाउँदै लक्ष्य भेट्टाउने गरी कार्यान्वयन गर्न सकिने खालको बनाउन सुझाव दिनुभयो ।
बिर्ता अर्जुन क्षेत्रीय प्रमुख प्रकाश सुवेदीले सञ्चालन गर्नुभएको सो बैठकमा उहाँले वार्षिक वजेट तथा कार्यक्रमहरु कार्यान्वयनका सुदृढ पक्ष, कमजोरी पक्ष, अवसर र चुनौतीहरु प्रस्तुत गर्नुभएको थियो ।
बचत तथा ऋण व्यवसाय उपसमितिका सदस्य हरिप्रसाद आचार्यले बैठकको आवश्यकता र औचित्य प्रष्ट्याउँदै शाब्दिक स्वागत गर्नुभएको सो बैठकमा क्षेत्रीय संयोजक तथा सञ्चालक समिति सदस्य डम्बरबहादुर बस्नेतले धन्यवाद मन्तब्य राख्नु भएको थियो ।
बैठकमा दानाबारी सेवा केन्द्र उपसमितिका संयोजक शिवराज भण्डारी, खुदुनाबारी सेवा केन्द्र उपसमितिका संयोजक कुन्तादेवी खनाल, महानन्दचोक सेवा केन्द्र उपसमितिका संयोजक शिवलाल खतिवडा, बुट्टाबारी सेवा केन्द्र उपसमितिका संयोजक हरिप्रसाद तिम्सिना र सैनिकबजार सेवा केन्द्र उपसमितिका संयोजक मनु मुखियाले अनुभूति मन्तब्य राख्नु भएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



