
भद्रपुर, २ जेठ । भद्रपुर भन्सार कार्यालयले अधिग्रहण गरेको जग्गाको मुआब्जाका लागि सरकारले पहिलो चरणमा १० करोड रकम निकासा गरेको छ ।
मेची पुल निर्माण भएसँगै भद्रपुर भन्सार कार्यालयले अधिग्रहण गरेको घरजग्गाको मुआब्जा दिन सरकारले आंशिक रकम निकासा गरेको हो । भद्रपुर नगरपालिकाको नेतृत्वमा गएको टोलीले मुआब्जाका लागि एक महिना अघि अर्थ मन्त्रालयमा ध्यानाकर्षण गराएको थियो ।
भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले दुई किस्तामा भए पनि मुआब्जाको रकम अबिलम्ब प्रदान गर्न अर्थमन्त्रीलाई आग्रह गरेपछि साना घर जग्गावाला व्यक्तिको मुआब्जा रकम पहिलो किस्तामा भुक्तानी गर्दै बाँकी रहेका जग्गावालाको दोस्रो किस्तामा रकम दिनेगरी अर्थ मन्त्रालयले रकम निकासा गरेको जानकारी दिए ।
भन्सार कार्यालयले अधिग्रहण गरेको करिब नौ बिघा जग्गामा ३० घरपरिवार बसोबास गर्दै आएका थिए । १०६ कित्ता व्यक्तिगत जग्गा रोक्का राखेर सरकारले अन्याय गरेको भन्दै स्थानीयबासी संघर्ष समिति गठन गरेर दुई वर्षयता आन्दोलन गर्दै आएका थिए ।
भन्सार कार्यालयले कार्यालय प्रयोजनका लागि सो स्थानको जग्गा अधिग्रहण गर्ने भनी २०७७ साउन २७ गते सूचना प्रकाशन गरी भूमि सुधार तथा मालपोत कार्यालय भद्रपुरमा जग्गा रोक्का आदेश गराइएको थियो । जग्गा रोक्का राखेको अढाइ वर्ष बितिसक्दा समेत जग्गाधनीहरूले मुआब्जा नपाएपछि संर्घष समिति गठन गरेर आन्दोलनमा उत्रिएका थिए ।
भद्रपुर–५ स्थित मेची नदीमा पक्की पुल निर्माण भएपछि सरकारले २०७५ भदौ १ गतेदेखि भद्रपुर भन्सार कार्यालयको स्तरोन्नति गर्दै मूल भन्सारमा परिणत गरेको छ । सो क्षेत्रमा केही खेती र केही आवास योग्य जग्गा रहेको छ । जग्गा अधिग्रहणका लागि सरकारले दुई वर्षअघि नै एक करोड बजेट छुट्टाइसकेको भए पनि करिब ६० करोड रुपैयाँ जग्गा अधिग्रहणका लागि खर्च हुने भएपछि मुआब्जा वितरण हुन सकेको थिएन ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



