
झापा, १६ जेठ । सरकारले सुन र चाँदीको भन्सार दर वृद्धि गरेपछि सुनको मूल्य बढेको छ । आर्थिक वर्ष २०८०–८१ को बजेटमार्फत् अर्थमन्त्री डा. प्रकाशशरण महतले विलासिताको वस्तुको रुपमा सुन र चाँदीमा १५ प्रतिशतले भन्सार वृद्धि गरेका हुन् ।
यसअघि प्रति १० ग्राम सुनको भन्सार ८ हजार ५ सय रुपैयाँ भन्सार लाग्ने गरेकोमा अब त्यो १५ प्रतिशतले वृद्धि भएर १२ हजार ४ सय रुपैयाँ कायम भएको छ । त्यस्तै प्रति १० ग्राम चाँदीमा १०७ रुपैयाँ भन्सार लाग्दै आएकोमा १५ प्रतिशतले बढेर १२३ रुपैयाँ ५ पैसा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बढेको भन्सारका कारण सुन र चाँदीको मूल्य समायोजन गरेर नयाँ मूल्य तोकेको छ । मंगलबार सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँले बढेको छ । जसअनुसार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १० हजार ५ सय र तेजावी सुनको मूल्य १ लाख ९ हजार ९५० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ८ हजार एक सय र तेजावी सुनको मूल्य १ लाख ७ हजार ६ सय रुपैयाँ थियो । मंगलबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको प्रतितोला मूल्य १ हजार ३६० रुपैयाँ तोकिएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



