
सन्तोष शर्मा
बिर्तामोड, १७ जेठ । झापामा सहकारी अभियानलाई सुदृढ बनाउन सञ्चारकर्मीहरुसँग अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
सहकारी संस्थाहरुको तीन वटा सरोकारी निकायले आज बिर्तामोडमा “सहकारीको विद्यमान अवस्था, समस्या र चुनौती”को विषयमा यहाँका सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गरेको हो ।
मुलुकमा व्याप्त आर्थिक संकटसँगै केही सहकारीका सञ्चालकहरुको कमी कमजोरीका कारण समग्र सहकारी अभियानमा चुनौती थपिएको भन्दै झापा जिल्ला सहकारी संघ, जिल्ला बचत तथा ऋण सहकारी संघ लि. र जिल्ला कृषि सहकारी संघले संयुक्त रुपमा सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गरेको हो ।
कार्यक्रममा यहाँका सञ्चारकर्मीहरुले सहकारी क्षेत्रमा देखिएका विकृति र समाधानका लागि सुझावहरु दिएका छन् । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले झापाका सञ्चारकर्मीहरु सहकारी अभियानको पक्षमा रहेको बताउनुभयो । उहाँले सहकारी क्षेत्रमा देखिएका विकृतिका विरुद्ध सञ्चारकर्मीको कलम नरोकिने बताउँदै उहाँले भन्नुभयो, “सहकारी क्षेत्रमा धेरै समस्या छ, समाधान लाग्नुहोस्, हामी तपाईंहरुको साथमा छौं ।”

झापा जिल्ला सहकारी संघ झापाका लेखा संयोजक चुडामणि ओझाले सहकारी संस्था खोलेर सिक्ने संस्थाको रुपमा विकास भएर आएकाले धेरै समस्या भएको सुनाउनुभयो । उहाँले सहकारी सञ्चालकहरुले पढ्नु पर्ने र जान्ने हुनुपर्नेमा जोड दिनुभयो ।
“राज्यले सहकारीमा बिचौलिया प्रवेश गराएको छ”, उहाँले भन्नुभयो, “स्थानीय र प्रदेशमा समेत सहकारी विज्ञ कर्मचारी छैनन् ।” उहाँले सहकारी क्षेत्रमा बाह्य ऋण बढी भएकाले पनि समस्या बढेको औंल्याउनुभयो ।
झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले सदस्यले ऋण नतिर्दा अहिले सहकारी क्षेत्रमा समस्या देखिएको बताउनुभयो । सहकारीहरुले सदस्यको समस्या बुझेर सदस्यलाई सहज हुने गरी ब्याज, हर्जना छुट गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सहकारी क्षेत्रमा समस्या देखिए पनि अनुगमन र नियमन गर्ने अधिकार संघमा नभएकाले संघले केही गर्ने अवस्था नरहेको बताउँदै उहाँले भन्नुभयो, “राज्य र सहकारी संघ सँगसँगै हिँड्न सके धेरै समस्या समाधान हुन्छ ।” संघले सहकारीहरुलाई मर्जर गर्दै झापामा सहकारी अभियानलाई थप उचाइमा पु¥याइने उहाँको भनाइ छ ।
जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष घनश्याम अधिकारीले सहकारीहरुले सदस्य जागरणसँगै दिगो बचत बढाउनुपर्ने जोड दिनुभयो । उहाँले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
झापामा केही कृषि सहकारीहरु सदस्यको पैसा हिनामिना गरेको भागेको भन्ने पत्रकारको जिज्ञासाको जवाफ दिँदै कृषि सहकारी संघकी केन्द्रीय सदस्य मिना तिवारीले सबै सहकारीलाई एउटै डालोमा राखेर हेर्न नहुने बताउनुभयो । उहाँले चिया, मह, तरकारी, दुध, पशुपालन लगायत कृषिका धेरै क्षेत्रमा सहकारीले उदाहरणीय कार्य गरेको बताउनुभयो । उहाँले गलत गर्ने सहकारीलाई नियमनकारी निकायले कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पत्रकारहरुको जिज्ञासाको जवाफ दिँदै जिल्ला सहकारी संघका सचिव भवानीप्रसाद दंगालले गलत गर्ने सहकारीलाई कारबाहीका लागि सहकारी विभाग, प्रदेश रजिष्टार कार्यालयबाट पत्र आएको र संघलाई समेत जिम्मेवारी दिएकाले सो विषयमा अध्ययन अनुसन्धान भइरहेको बताउनुभयो । उहाँले सदस्यले बचत गरेको रकम अर्को सदस्यलाई ऋण दिनुपर्ने भएकाले ऋणको किस्ता सदस्यले नबुझाउँदा समस्या भएको बताउनुभयो ।

जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष महेन्द्र गिरीले गर्नुभएको थियो भने सञ्चालन सचिव भवानीप्रसाद दंगालले गर्नुभएको थियो । कार्यक्रममा जिल्ला सहकारी संघ र बचत तथा ऋण सहकारी संघका तर्फबाट जिल्लामा सहकारीको अवस्था र भए गरेका गतविधिका बारेमा प्रस्तुती समेत दिइएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



