
झापा, ९ असार । करिब २ सय वटा म्यानपावर कम्पनी खारेज हुने भएपछि त्यसलाई रोक्न व्यवसायीहरुले पहल तीव्र बनाएका छन् । खारेजीको मुखमा पुगेका करिब २ सय म्यानपावर कम्पनीलाई जोगाउन सरकारले कानुन नै संशोधन गर्न संसदमा विधेयक लगिसकेको छ ।
तोकिएको संख्यामा श्रमिक पठाउन नसक्ने म्यानपावर कम्पनीको अनुमतिपत्र खारेज हुने वैदेशिक रोजगार ऐनमा व्यवस्था छ । तर, असार मसान्तअघि संसदबाट विधेयक पारित नभएर म्यानपावर कम्पनी खारेज हुने जोखिम छ । त्यसैले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको टोली विद्यमान ऐनको दफाले पर्ने बाधा अड्काउ फुकाउन माग गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयदेखि प्रधानमन्त्री कार्यालयसम्म पुगिरहेको छ । संघका महासचिव मेघनाथ भुर्तेल शुक्रबार मुख्यसचिव बैकुण्ठ अर्याललाई पनि भेटेर म्यानपावर कम्पनी खारेज नहुने गरी बाधा अड्काउ फुकाउको निर्णय गर्न माग गरेको छ ।
सरकाले संसदमा लगेको केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमा वैदेशिक रोजगार ऐनको लगातार दुई वर्षमा कम्तीमा सय जना श्रमिक नपठाएमा अनुमतिपत्र खारेज हुने व्यवस्था हटाउन प्रस्ताव गरिएको छ । तर, यो असार मसान्तसम्म पारित हुने सम्भावना कम भएकाले व्यवसायीले यस्तो वकालत गरिरहेका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



