
कनकाई, ६ मंसिर । झापाको बिर्तामोड—४ मा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्था (साकोस) को २३औं वार्षिक साधारण सभा अन्तर्गत इकाइ–७ को इकाइगत साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षता एवम्ं कनकाई नगरपालिका वडा नं. ३ का वडाध्यक्ष युवराज चम्लागाईँको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा उत्कृष्ट बचत कर्ता तर्फ बिमला पाठक (सुरुङ्गा), सीतादेवी विश्वकर्मा (शरणामति), रमेश शाह (शिवगञ्ज), नविन बस्नेत (बैगुनधुरा), अनुज रोक्का (झिलझिले) लाई सम्मान गरिएको छ । उत्कृष्ट ऋणीतर्फ सावित्रा खत्री (सुरुङ्गा), सावित्री राजवंशी (शरणामति), देवीप्रसाद खरेल (शिवगञ्ज), सुनिलकुमार दास (बैगुनधुरा) र भगवती बि.क. (झिलझिले) लाई सम्मान गरिएको छ ।
अध्यक्ष श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा हालको शेयर पूँजी ४८ करोड, ८० लाख, २१ हजार ७ सय रहेको जानकारी दिए । अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष ५ करोड, ६ लाख, १७ हजार ६ सय शेयर पूँजी बृद्धि गर्न सफल भएको जानकारी दिँदै अध्यक्ष श्रेष्ठले संस्थाको जगेडा कोषमा १३ करोड, ३८लाख, १ हजार ६ सय ७१ रहेको बताए । आर्थिक वर्ष २०७९/०८० को वित्तीय प्रगति विवरण सार्वजनिक गर्दै अध्यक्ष श्रेष्ठले संस्थाको जम्मा वासलात ४ अर्व, ३६ करोड, २१ लाख, ७ हजार, दुई सय चार भएको जानकारी दिए ।
हाल झापासहित इलाम र मोरङमा गरी ४१ वटा सेवा केन्द्रमार्फत् संस्थाले सेवा प्रवाह गर्दै आएको छ । संस्थामा गत आर्थिक वर्षको असार मसान्तसम्म ५३ हजार ७८१ शेयर सदस्य रहेको प्रतिवेदनमा उल्लेख छ ।
अध्यक्ष श्रेष्ठले २३औं वार्षिक साधारण सभा समापनसँगै वर्तमान सञ्चालक समितिको पदावधि समापन हुने जानकारी दिए । जसका लागि सहकारी ऐन एवम् नियमावली साथै संस्थाको विनियम सहित सञ्चालक समितिको यस अघि नै बसेको बैठकको निर्णयअनुसार विर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्लीराम दहालको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिसकेको बताइएको छ । निर्वाचन प्रक्रियाबाट सञ्चालक समितिको ४ पदाधिकारी र ९ सदस्य साथै लेखा सुपरिवेक्षण समितिको संयोजक र दुई सदस्य निर्वाचित हुने प्रावधान रहेको जनाइएको छ ।
संस्थाका कोषाध्यक्ष एकराज विष्टले स्वागत गरेको सभामा लेखा समितिका संयोजक रामकुमार गौतमले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । सभामा सदस्यबाट उठेका सवालको जवाफ दिँदै संस्थाका अध्यक्ष श्रेष्ठ साथै सचिव भुपाल बस्नेत लगायतले सदस्यहरुका महत्वपूर्ण सुझावको टिपोट गरिएको भन्दै उचित सुझावको सम्बोधन हुने प्रतिवद्धता जनाए ।
संस्थाको आगामी पौष ४ गते हुने साधारण सभामा अन्तिम माइन्युट प्रमाणिकरणका लागि सभाले ५ जना सदस्य अनुमोदन गरेको छ । जसमा डुकमाया काफ्ले, जीतनीकुमारी यादव, गोकुल पौडेल, शान्ता कोइराला र गोपाल खरेल रहेका छने । औपचारिक कार्यक्रमको सञ्चालन सचिव भुपाल बस्नेतले गरेका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



