
झापा, २३ पुस । रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको तीनकुनेमा मुख्य कार्यालय रहेको सहकारीको डोटी घर भएका ३१ वर्षीय हर्कबहादुर कठायतलाई पक्राउ गरेको हो । सहकारीको रकम हिनामिना गरेको आरोपमा फरार रहेका उनीसँगै काभ्रे निवासी ३५ वर्षीय सहकारीका सदस्य विनोदकुमार ओझालाई समेत प्रहरीले पक्राउ गरेको छ ।
जोरपाटी र भक्तपुर जिल्ला भित्रका सहकारीका शाखा कार्यालयहरूका सञ्चालक समितिका सदस्यहरूले निक्षेपकर्ताहरुलाई आकर्षक ब्याजदर दिन्छु भनी प्रलोभन देखाई ठगी गरेको आरोप छ । निक्षेप कर्ताको रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई मासिक–त्रैमासिक–वार्षिक रूपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वासका साथ उक्त संस्थामा बचतकर्ताहरूले जम्मा गरेको रकम पटक(पटक ताकेता गर्दा पनि फिर्ता नदिएको केन्द्रीय अनुसन्धान ब्यूरोको भनाइ छ ।
बचतकर्ताहरूको हालसम्म प्राप्त जाहेरी अनुसार १२ करोड ३५ लाख ४८ हजार २ सय २ रुपैयाँ बयानब्बे पैसा बचत रकम अपचलन तथा हिनामिना भएको अनुसन्धान ब्यूरोले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



