
झापा, ७ माघ । मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेश सरकारले भ्रष्टाचारको विषयमा कसैसँग कुनै किसिमको सम्झौता नगर्ने बताएका छन् । खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालयले विराटनगर, इटहरी र झापाको सुरूङ्गामा स्थापना गरेको विद्युतीय सवारी चार्जिङ्ग स्टेसनको आइतबार उद्घाटनपछि मुख्यमन्त्री कार्कीले कोशी सरकार फरक ढंगले सुशासनमा अघि बढिसकेकाले सबैलाई इमानदारितापूर्वक जनताको पक्षमा काम गर्न निर्देशन दिएका हुन् ।
‘सकारलाई कुनै बाधा र अबरोध छैन, फरक ढंगले सुशासनमा अघि बढिसकेकाले कसैको लागि सकार रोकिदैन’, उनले भने, ‘२५ मेघावाटको जलविद्युत आयोजना सूचिकृत गराउन भनेकोले त्यो नगरे सचिव जान्छ, रोकिदैन किनकी सर्वसम्मतिको शतप्रतिशत जनताको मतको सरकार भएकाले जनताको पक्षमा मात्रै काम गर्नुपर्छ । प्रदेश सरकारले प्रदेशलाई कृषिमा फडको मार्न कार्यक्रम अगाडि बढाउन लाग्नुका साथै उद्यमी बनाउने काम पनि यसै वर्षबाट सुरू गर्दै छ त्यसैले अब जनताको काम रोकिदैन ।’
यो काम गरेपछि जनताको भोट आउँछ भनेर कोही नआउनु होला तर यो गरेपछि जनताले सुबिधा पाउँछ भनेर मात्रै आउन मुख्यमन्त्री कार्कीले बताएका छन् । ‘अब प्रदेशमा कसैलाई विभेद नहुने गरी काम प्रदेश सरकारले गर्छ’, उनले भने, ‘खानेपानीमा विभेद नगर्न र सबै जनताको घरमा पुर्याउन निर्देशन दिएको छु र जीवन बचाउने खानेपानीमा धेरै नाफा कमाउनु हुँदैन र उपभोक्ताको पैसा लिएर विदेश घुम्न जाने होइन, जनताको मन जित्ने गरी काम गरौं ।’
विद्युतीय चुल्हो र गाडी चार्जिङ स्टेसन बनाएर गाडी खरिदमा पैसा बाहिर पठाउने अवस्थाको अन्त्यका लागि प्रदेश सरकारले काम अघि बढाएको मुख्यमन्त्री कार्कीले बताएका हुन् । खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालयले उक्त तीन वटै ठाउमा १ करोड १४ लाखको लागतमा चार्जिङ स्टेशन निर्माण गरेर सञ्चालन गरेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



