भद्रपुर, २९ माघ । कालोपत्रे सडक निर्माणको कार्य तत्काल सुचारु गर्नुपर्ने माग राख्दै स्थानीयले सडक अवरुद्ध पारेका छन् । बिर्तामोड–भद्रपुर सडक खण्ड अन्तर्गत चन्द्रगढीस्थित लेखनाथ चोकमा सडक अवरुद्ध पारेका हुन् ।
स्थानीयले आइतबार बिहान लेखनाथ चोक र उत्तरतर्फ खानेपानी कार्यालय छेउमा ढाट र अन्य सामग्री सडकमा राखेर अवरुद्ध पारेका थिए । सडक अवरुद्ध गरेका कारण सवारी साधनहरू वैकल्पिक सडकबाट सञ्चालन गरिएको थियो ।
![advt](http://jhapaonline.com/wp-content/uploads/2024/06/Jana-ad-2-copy.jpg)
धुलोका कारण सडकमा बसी नसक्नु भएपछि अब पानी हालेर धुलो बन्द गर्ने होइन कालोपत्रे सडक नै एक सूत्रीय माग रहेको उनीहरूले जनाएका छन् । हिउँदमा धुलो मारेर के गर्नु, वर्षा याममा हिलाम्मे
सडक हुन्छ भन्दै स्थानीयहरु नेता र ठेकेदार प्रति आक्रोशित भएका थिए ।
बिर्तामोड –८ देउनियाँ पुलदेखि भैरव चोकसम्म चार लेनको सडकको ठेक्का लागे पनि अलपत्र पारेर काम नगरेको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन् ।
यता समयमै सडक नबनेपछि बिर्तामोड – शनिश्चरे सडकखण्ड पनि स्थानीयले एक सातादेखि अवरुद्ध गरेका छन् । सडक खुलाउने विषयमा नगरपालिकाले चासो लिए पनि निर्माण व्यवसायीले काम गरेको रकम नपाएको भन्दै सडक निर्माण कार्य रोकेपछि सडक अलपत्र परेको हो । निर्माणाधीन सडक सवारी चल्दा धूलो उडेर मानवस्वास्थ्यमा गम्भीर असर परेको भन्दै स्थानीय अनिश्चितकालका लागि भन्दै सडक अवरुद्ध गरेका हुन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।