
झापा, ३ फागुन । कोरियन भाषा परीक्षा (ईपीएस) फागुन ७ गतेदेखि हुने भएको छ । ईपीएस कोरिया शाखाले एक सूचना जारी गर्दै फागुन ७ गतेदेखि परीक्षा सञ्चालन गर्ने जनाएको हो । परीक्षा राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान भैसेपाटीमा हुनेछ ।
सन् २०२३ का लागि उत्पादनमूलक क्षेत्रतर्फका लागि आवेदन आह्वान गरिएकोमा १ लाख ६४ हजार ७१६ जनाले आवेदन दिएका थिए । परीक्षामा मोबाइल फोन, इलेक्ट्रेनिक डिस्नरी, स्मार्ट वाच लगायतका कुनै पनि विद्युतीय सञ्चारका साधनहरू परीक्षा हलभित्र पूर्णतः निषेध गरिएको छ भने परीक्षामा चिट, कपि गरेको तथा अन्य अवाञ्छित गतिविधि गरेको भेटिएमा परीक्षा रद्द गर्नुका साथै ४ वर्षसम्मका लागि परीक्षामा समावेश हुन निषेध गरिएको ईपीएस कार्यालयले जनाएको छ ।
परीक्षा सञ्चालन मितिभन्दा १ दिन अगावै आफ्नो सिफ्ट अनुसार ईपीएस कार्यालय ग्वार्कोमा बायो–मेट्रिक रजिस्ट्रेशन (फिङ्गर प्रिन्ट दर्ता) को लागि उपस्थित हुनुपर्नेछ । परीक्षाको दिन सो बायोमेट्रिक परीक्षा केन्द्र भैसेपाटीमा भेरिफाई हुने कार्यालयले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



