
झापा, १० फागुन । अस्वस्थ जीवनशैली नै उच्च रक्तचापको प्रमुख कारण हो । अस्वस्थ आहार (नूनिलो खानेकुरा), मोटोपना र शारीरिक गतिविधिको कमीले उच्च रक्तचापको सृजना गर्नसक्छ ।
जीवनशैलीमा हुने अस्वस्थ परिवर्तनले गर्दा नै युवकहरुमा पनि यो समस्या बढ्दै गइरहेको देखिन्छ ।
धुम्रपानको सेवनले रक्तचापलाई बढाउँछ । यसले रक्तचाप कम गर्ने औषधिको असरलाई पनि कम वा निष्कृय गर्छ, जसले गर्दा रक्तचापको राम्रो नियन्त्रण हुन पाउँदैन ।
उच्च रक्तचापका लक्षणहरु
सामान्यतया उच्च रक्तचापको केही लक्षण हुँदैन। उच्च रक्तचापको कारणले टाउको दुख्छ भन्ने जनधारणा छ, तर यो कुरालाई अनुसन्धानले पुष्टि गर्दैन ।
रक्तचाप अचानक धेरै बढेमा टाउको दुख्नसक्छ । ब्लड प्रेसर अलिअलि मात्र बढेमा टाउको दुख्दैन । तर उच्च रक्तचापले टाउको को पछाडितिर कहिलेकाँही पुरै टाउको भारी हुने वा अलिअलि दुख्ने हुनसक्छ ।
कसैकसैलाई रक्तचाप बढेको बेलामा केही लक्षण तथा समस्याहरु देखा पर्न सक्छन् । कहिलेकाँही उच्च रक्तचापको कारणले अंगहरुमा परेको दुष्प्रभावको फलस्वरुप विभिन्न लक्षणहरु देखापर्न सक्छ ।
केही बिरामीलाई मस्तिष्कघात, हृदयाघात वा मृगौलाको समस्या आदि भएर अस्पताल पुगेपछि मात्रै उच्च रक्तचाप भएको पहिलो पटक थाहा हुनसक्छ ।
टाउको दुख्नु वा भारी महसुस हुनु
रिंगटा लाग्नु
हिंडदा स्वाँ स्वाँ हुनु
खुट्टा वा अनुहार सुन्निनु
नाकबाट रगत बग्नु
अर्को एउटा कुरा, टाउको दुख्ने कारण उच्च रक्तचाप नभएर अरु नै हुनसक्छ । बरु टाउको दुखेको बेलामा रक्तचाप पनि बढ्न सक्छ । त्यसैले टाउको दुख्न ठीक भएपछि फेरी रक्तचाप नापेर हेर्नुपर्छ । डा.ओममूर्ति अनिल, मुटुरोग विशेषज्ञ



