
झापा, १६ फागुन । वैदेशिक रोजगार विभागले १४ मेनपावर कम्पनीले सफाइ दिएको छ । जापानी भाषा तथा संस्कृति सम्बन्धी तालिमको शङ्कास्पद प्रमाणपत्र पेस गरेको भन्दै १४ मेनपवारलाई निलम्बन गरी विभागले अनुसन्धान थालेको थियो ।
विभागले गरेको अनुसन्धानको क्रममा उनीहरूको कमजोरी नभेटिएपछि सफाइ दिइएको जनाएको छ । शंकास्पद कार्य गरिरहेको भन्दै विभागले उनीहरूलाई निलम्बन गरेको थियो । तर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले निलम्बन गर्ने विभागको निर्णय खारेज गर्दै आवश्यक अनुसन्धान गर्न निर्देशन दिएका थिए ।
विभागका निर्देशक तथा सूचना अधिकारी कविराज उप्रेतीको संयोजकत्वमा रहेको समितिले अनुसन्धानको क्रममा गल्ती फेला नपरेपछि उनीहरूलाई सफाइ दिइएको विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए । निलम्बनमा पर्नेहरूमा गुड लाइफ इन्टरनेशनल इम्प्लोमेन्ट एजेन्सी, सत्यवती ओभरसिज, डीएन इन्टरनेशनल, रोयल ओभरसिज, जब्स ग्लोबल, लायन्स इन्टरनेशनल लगायतका १४ वटा मेनपावर कम्पनी थिए ।
जाइकामार्फत पाएको भाषा परीक्षा पासको प्रमाणपत्रको आधारमा विभागबाट श्रम स्वीकृति लिने र जापानमा काम गर्न जाने गरेका थिए । तर, भाषा परीक्षा पास नगरेकाहरूले समेत जाइकाको प्रमाणपत्र बनाएको पाइएको थियो । जाइकाको सबै कागजातको नक्कल गरेर प्रमाणपत्र बनाउँदै केही मेनपावर कम्पनीहरुले जापान पठाउने गरेका थिए । त्यसका लागि मेनपावर व्यवसायीहरूले ५० हजारदेखि १ लाख रूपैयाँसम्म थप पैसा लिने गरेको बताइन्छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



