
कनकाई, २१ फागुन । झापाको बिर्तामोड–५ मा मुख्य कार्यालय रहेको सतासी बहुद्देश्य सहकारी संस्था लि.को २७ औं वार्षिक उत्सव सम्पन्न भएको छ ।
कनकाई–३ सुरुङ्गास्थित संस्थाको डिपार्टमेन्ट स्टोर परिसरमा सामाजिक व्यक्तित्व, उत्कृष्ट सदस्य, कर्मचारी, सेवा केन्द्रलाई सम्मान, दुई संस्थालाई खाद्यान्न सहयोग लगायतका कार्यक्रम गरी वार्षिक उत्सव मनाएको हो । वार्षिकोत्सव समारोहको उद्घाटन कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलले गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले आम नागरिकको जीवनस्तर उकास्न सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । पछिल्लो समय सहकारी क्षेत्रमा समस्या र विकृत्ति देखिएको भन्दै त्यसको निराकरणमा सबै लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
संस्थाले समाजमा रहेर उत्कृष्ट कार्य गर्ने कलाकर्मी हिम्मत नेम्वाङलाई सम्मान गरेको छ । त्यस्तै, संस्थाले उत्कृष्ट बाल बचतकर्ताहरु प्रसङ्ग लावती लिम्बू, कृति पोर्तेल, चिराग मण्डल, आयुष शाक्य, इच्छा भुजेल, अनमोल कार्की, उत्कृष्ट बचतकर्ता धर्मसिंह तामाङ, कर्णबहादुर कटुवाल, बलभद्र खड्का, सञ्जयकुमार श्रेष्ठ, चन्द्रवती राजवंशी र रमन मियालाई सम्मान गरेको छ ।
यस्तै, उत्कृष्ट ऋण सदस्यतर्फ लक्ष्मी शाह, रामप्यारी शाहु, धरणी राजवंशी, देवेन्द्र चापागाईं, श्यामबहादुर श्रेष्ठ, नरप्रसाद ढकाललाई सम्मान गरेको छ । संस्थाले उत्कृष्ट कर्मचारीका रुपमा हरिमाया तामाङ, पवन खवास, सुष्मा प्रधान र उत्कृष्ट सेवा केन्द्रका रूपमा गरामनी सेवा केन्द्रकी कार्यालय प्रमुख विपना शाहीलाई सम्मान गरेको हो ।
वार्षिकोत्सव समारोहमा संस्थाले पुकार अपाङ्गता समाज र सुस्त मनस्थिति सरोकार समाज नेपाललाई खाद्यान्न सहयोग गरेको छ ।
सहकारी संघ कनकाई नगर समन्वय समितिका अध्यक्ष कुमारमणि पोखरेल, सुस्त मनस्थिति सरोकार समाजका अध्यक्ष भगिरथा चापागाईं पोखरेल, सम्मानि व्यक्तित्व हिम्मत नेम्वाङ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा कार्यक्रममा कनकाई–३ का अध्यक्ष युवराज चौलागाईं, कनकाई सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ख्यामप्रसाद ओली, नेपाल–भारत मैत्री संघका कनकाई अध्यक्ष अर्जुनकुमार बोहोर लगायतको आतिथ्य रहेको छ ।
संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठको अध्यक्षतामा, स्वागत उपाध्यक्ष तुलसा थापा गुरुङले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका प्रबन्धक सन्तोष श्रेष्ठले गर्नुभएको थियो । संस्थाका अध्यक्ष श्रेष्ठले संस्थाको अवस्थाबारे अवगत गराउँदै संस्थाको बासलात ८५ करोड रुपैयाँ भन्दा बढिरहेको बताउनुभयो । सदस्यहरुको साथ र सहयोगबाट संस्था प्रगतिउन्मुख हुँदै गएको उहाँको भनाइ थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



