
झापा, २३ फागुन । झापाको झापा गाउँपालिका–७ स्गित मदगाछ बजारमा ‘मदरगाछ सांस्कृतिक तथा व्यापार मेला २०८०’ हुने भएको छ ।
आगामी फागुन २५ देखि चैत ६ गतेसम्म दीपज्योती युवा क्लब र जेएस फिल्म प्रोडक्शन प्रालि काठमाडौंको संयुक्त आयोजनामा सांस्कृतिक तथा व्यापार मेला आयोजना हुने भएको हो । स्थानीय उत्पादनको प्रवर्धन र मदरगाछ बजारलाई विश्वमाझ परिचित गराउने उद्देश्यले मेला आयोजना गर्न लागिएको आयोजक संस्था दीपज्योति युवा क्लबका अध्यक्ष डिल्लीराम चुडालले बताउनुभयो ।
झापा गाउँपालिका–७ का वडाध्यक्ष सखीचन्द्र ठाकुरले यो मेला यहाँका लागि गौरवको विषय भएको बताउनुभयो । यो मेलाले यहाँको परिचयलाई व्यापक बनाउन मद्दत मिल्नुका साथै स्थानीय उत्पादनको प्रबद्र्धन हुने उहाँको विश्वास छ ।
मेलामा स्थानीय उत्पादनसहित ४० वटा स्टल रहने मेला आयोजक समितिका संयोजक तारवीर पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार बालबालिकाका लागि मनोरजानत्मक सामग्रीका स्टल समेत रहनेछन् ।
मेलामा सुरेश धिमाल अन्तरा वेण्ड र सिदान्त एण्ड दी वेण्डका साथै ज्योती मगर, राजशुक्र लिम्बु, प्रिति आले, कमल खत्री, शान्तिश्री परियार, श्रीनिवास, हिमाल सागर, एलिना चौहान, तारावीर पाण्डे, प्रिति पासवान, नन्दु गुरुङ, टिका प्रसाई, सुवास महत, फुलन्देको आमा लगायतका गायक तथा कलाकारसहित स्थानीय कलाकारकोसमेत प्रस्तुती रहने संयोजक पाण्डेले बताउनुभयो । प्रवेश शुल्क निःशुल्क रहेको उक्त मेलामा सांस्कृतिक कार्यक्रमको शुल्क एकसय रुपैयाँ लाग्ने उहाँको भनाइ छ ।
मेला बारे जाकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा उद्योग बाणिज्य संघ झापा गाउँपालिकाका उपाध्यक्ष छत्रप्रसाद पाण्डेले मेलाको औचित्यमाथि प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको सञ्चालन क्लबका सचिव बासुदेव दाहालले गर्नुभएको थियो ।
१० दिने उक्त मेलामा दैनिक पन्ध्र सयदेखि दुई हजार दर्शकको उपस्थिति रहने आयोजकको अनुमान छ । मेलामा करिब ११ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा बजार व्यवस्थापन समितिका सुवास डाँगी, जनकल्याण मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर श्रेष्ठलगायतको आतिथ्य रहेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



